पशुपतिनाथमा तीजको रौनक (तस्वीरहरु)

काठमाडौं । तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो ।
व्रतालुहरु त्यसभन्दा अघिदेखि नै लाइनमा लागेका थिए । दर्शनार्थीलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भनेर चार ठाउँबाट लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति मन्दिर दर्शन गरिसकेकाहरु समूह–समूह बनाएर नाचगान गरिरहेका छन् ।
हेर्नुस् तस्वीरहरु








