निर्मला शर्मालाई ‘गोपालदास पत्रकारिता पुरस्कार’


५ आश्विन २०८०, शुक्रबार
Nirmala Sharma

काठमाडौँ । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

करिब तीन दशकदेखि नेपाली पत्रकारिताका विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आएकी शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ ।

यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ । नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्धितीय योगदान दिएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व.गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउने उद्देश्यले श्रेष्ठको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।

२०५२ सालदेखि विभिन्न मिडिया काम गर्दै आएकी निर्मला शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता छिन् । शर्मासँग बिगत २८ बर्षदेखि निरन्तर रुपमा विभिन्न सञ्चार माध्यममा रिपोर्टर हुँदै सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।

उनले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रिय दैनिक पत्रिकाको रिपोटर, रेडियो नेपाल र रेडियो नेपालको घटना र बिचार कार्यक्रमको रिपोटर , त्यस्तै गरी सारथी साप्ताहिक, रेडियो सगरमाथा लगायतका संचार संस्थामा काम गरेकी छन् ।
हाल उनी खोज पत्रकारिता केन्द्रको उपाध्याय, दक्षिण एशियाली पत्रकार महिला सञ्जाल (स्वाम) नेपालको अध्यक्ष र नेपाल पत्रकार महासंघको सल्हाहकार छिन् ।

महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरुको संख्या बढाउनका लागि तालिम र गुणात्मक वृद्धिको लागि उनले निकै मेहनत गरेकी थिइन् । काउन्सिलले वि.सं. २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो ।

गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यस अघि काउन्सिलका संस्थापक समेत रहेका अग्रज पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको थियो । प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुन् । प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७