लोकमार्ग विस्तार गर्न अछेतेका घरटहरा भत्काइँदै


६ आश्विन २०८०, शनिबार
Lokmarga baglung
फाइल फोटो

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन । दश वर्षदेखि बागलुङ खण्डका सडकमा कालोपत्र सुरु गरिए पनि अझै सम्पन्न हुन सकेको हो । निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराहरुले समेत समस्या बनाएका छन् । लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किमी सडक पर्छ ।

यसका लागि हाल लोकमार्ग निर्माणका लागि अछेते बजारका घरटहरा हटाइने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी तथा इन्जिनियर पवन सुवेदीले यसका लागि हाल मूल्याङ्कन भइरहेको बताए ।
बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी सडकमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप्न लागिएको छ । अन्तिम पटकलाई म्याद थप गर्ने गरी निर्माण कम्पनी काममा फर्किएपछि सडक चौडा पार्न घरटहरा भत्काउनु अघि क्षतिपूर्ति दिनका लागि मूल्याङ्कन भइरहेको हो । सुवेदीका अनुसार अछेतेमा पाँच परिवारका आठ वटा घरटहरा भत्काउन लागिएको हो ।

यसअघि गत असार १९ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ती दिएर घरटहरा भत्काउने निर्णय गरेको थियो । ‘लोकमार्ग विस्तारमा घरटहरा परेमा मात्रै क्षतिपूर्ति दिने व्यवस्था छ, मन्त्रिपरिषद्को निर्णयपछि मात्रै हामीले काम अगाडि बढाएका हौँ, अहिले भत्काउने घरहरुलाई सङ्केत गर्ने, कच्ची वा पक्की छुट्याउने र क्षतिपूर्ति दिने रकम मूल्याङ्कन गरिरहेका छौँ’, सुवेदीले भने ।

बागलुङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको क्षतिपूर्ति व्यवस्थापन समितिले सहायक प्रजिअ चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घरटहरा भत्काउने प्रायोजनमा उपसमिति बनाइएको छ । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ साल माघ १४ गते भारत-सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षका लागि गरेको ठेक्का सम्झौता पाँचाैं पटक म्याद थपको चरणमा पुगेको छ । घरटहरा भत्काउनका लागि स्थानीयले सहजीकरण गरेकाले समस्या नहुने बागलुङका सहायक प्रजिअ चित्राङ्गत बरालले जानकारी दिए ।

अछेते बजारका स्थानीय दीपक भण्डारीका अनुसार राज्यले दिने क्षतिपूर्तिका आधारमा घरटहरा भत्काउन दिने सहमति जनाइसकेको बताए । भण्डारीका दुईवटा टहरा मापदण्डभित्र परेपछि भत्काइँदै छ । स्थानीयवासीले विकास निर्माणमा सहजीकरण गर्दै आवश्यक क्षतिपूर्ति पाएपछि घरटहरा भत्काउन दिने भएपछि अछेतेमा लोकमार्ग विस्तारसँगै कालोपत्रको काम अगाडि बढ्ने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७