चिनियाँ लगानीकर्तालाई नेपाल अवसर भूमि : प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरु)

‘नेपाल–चीन व्यापार घाटा चिन्ताको विषय’


७ आश्विन २०८०, आईतवार
Prachanda china 2 scaled
तस्वीरहरू : प्रदीपराज वन्त /रासस

चीन । नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणको लागि दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् ।

Prachanda china 3

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा दुवै तर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त धारणा राखेका हुन् ।

Prachanda china 1

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताएका छन् । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकाले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए ।

प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्य विना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैँ तत्पर रहेको बताए । साथै उनले महासङ्घले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासङ्घको सराहना पनि गरे ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणको लागि प्रयत्न गर्नुपर्ने बताए ।

chandra dhakal china

सिसिपिआइटीको मुख्यालय बेइजिङमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताएका छन् । चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो । नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । यसै गरी उनले नेपालबाट बढिभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताए ।

समिटमा महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । साथै, नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्वपूर्ण रहने महासङ्घ अध्यक्ष चन्द्र ढकालले बताए ।

कार्यक्रममा महासङ्घ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। पछिल्लो समय पर्यटन पूर्वादारहरू जस्तै केवल कार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको बडी सम्भावना देखिएको उनले बताए । नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

PRO Beijing Wangc

विदेशी लगानी सहजीकरणको लागि महासङ्घमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले बताए। नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिएका छन् ।

अध्यक्ष ढकालले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनिया बैङ्कको आवश्यकता रहेको बताए । चिनिया बैङ्क शाखाको रूपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने उनले बताए । सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगांगले महासङ्घ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए ।

सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास जताए ।
महासङ्घको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गरेका थिए । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए ।

समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासङ्घ, नेपाल उद्योग परि सङ्घ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासङ्घका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता थियो। उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ ।

यसअघि, महासङ्घ र सिसिपिआइटीका पदाधिकारीहरू बीच द्विपक्षीय छलफल समेत भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणको विषयमा छलफल भएको थियो । छलफलमा अध्यक्ष ढकाल सहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको सहभागिता थियो।

यसै गरी महासङ्घ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले पनि बैठकमा सहभागिता जनाएका थिए। यसै गरी कार्यसमिति सदस्यहरू मनोज पौडेल, हरि कार्की र शोभा ज्ञवालीको पनि कार्यक्रम एवं बैठकमा सहभागिता थियो ।

समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिंग कम्पनीसँग लगानी विस्तारको समझदारी गरेको छ। यसै गरी चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससंग पनि सम्झौता गरेको छ । महासङ्घले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो। यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासङ्घ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७