तल्लो तह एकीकरणका लागि तीन कार्यदल


७ जेष्ठ २०७५, सोमबार
nepal cominislist party office

काठमाडौं, ७ जेठ । नव गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो सचिवालय बैठकले तल्लो तहको एकीकरणका लागि तीन वटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिनुका साथै कार्यदलहरु गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । nepal cominislist party officeसंगठनात्मक एकीकरणको प्रक्रिया अगाडि बढाउनलाई विधानको परिपूरक हुने गरी नियमावली निर्माण गर्न नियमावली मस्यौदा कार्यदल गठन गरिएको उनले जानकारी दिएका छन् । कार्यदलमा महासचिव विष्णु पौडेल तथा नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा छन् । यस्तै संगठनात्मक एकीकरणका अरु काम अघि बढाउन तथा सातै प्रदेश र प्रवासको एकीकरणको लागि सुझाव पेश गर्न पूर्वघटकका इन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासको लागि चार–चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

यस्तै जनवर्गीय संगठनको एकीकरणका लागि सम्बन्धित जनवर्गीय संगठनका पूर्व घटकहरुको इन्चार्ज र सम्बन्धित मोर्चाको प्रमुख रहने गरी चार सदस्यीय अर्को कार्यदल गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । तीन वटै कार्यदलको समयावधि १५ दिन तोकिएको छ ।

बैठकले केन्द्रीय कार्यालय स्थान निर्धारणका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मा दिने निर्णय पनि गरेको छ । अहिले साविकको एमाले कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा दुवैलाई नेकपाको कार्यालय बनाइएको छ । बैठकले पार्टीको मूल वैचारिक तथा सैद्धान्तिक लाइन छिटै निर्धारण गर्ने र राजनीतिक प्रतिवेदन तथा विधान प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७