१९औं एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ आज नेपाल र मंगोलिया भिड्दै


१० आश्विन २०८०, बुधबार
nepal cr rwa6SoVLX9

हाङझाउ (चीन) । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मंगोलियासित खेल्दैछ ।

नेपाल र मंगोलिया बीचको खेल नेपाली समयअनुसार अहिले बिहान ६ः४५ मा सुरु हुँदैछ । मंगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०२१ मा मात्र मंगोलियालाई एशोसिएट टोलीको मान्यता दिएको हो । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्ने छ ।

समूह ‘ए’ मा शीर्ष स्थानमा रहन सके नेपाल क्वार्टर फाइनलमा प्रवेश गर्नेछ । क्वार्टर फाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एक दिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै यहाँ आइपुगेको छ ।

नेपाली टोलीका दुई महत्वपूर्ण खेलाडी सन्दीप लामिछाने र सागर ढकाल आजै यहाँ आइपुगेका छन् । नेपाली टोलीका अन्य खेलाडीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी र सन्दीप जोरा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७