नेपालको मंगोलियामाथि टि २० विश्व कीर्तिमानी जित


१० आश्विन २०८०, बुधबार
kusal dipendra

काठमाडौं । नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३।१ ओभरमा ४१ रनमा अल आउट भयो ।

यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो । त्यस्तै क्यानडाले २०२१ मा पानामामाथि २ सय ८ रनको फराकिलो जित हात पारेको थियो ।
मंगोलियाका दावासुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए ।

त्यसअघि चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । टि२० आई इतिहासमा पहिलो पटक ३ सय रन बनेको हो । यसअघि टि२० आईमा उच्च योगफल अफगानिस्तान र चेक रिपब्लिकनको नाममा समान २ सय ७८ रन थियो ।

नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।

भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए । ओडिआईमा कुशलले नै ओमानविरुद्ध ५९ बलमा शतक हानेका थिए ।

दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका थिए । उनी कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतीय ब्याटर युवराज सिंहले टि२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक हानेका थिए ।

कप्तान राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो ।

नेपालका रोहित पौडेलले पनि १९ बलमै अर्धशतक प्रहार गरेका थिए । कुशल र रोहित दुबै नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । २०१९ मा ज्ञानेन्द्र मल्लको मलेसियाविरुद्ध २० बलको कीर्तिमान तोडेका हुन् । नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ । आइसिसी टि२० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेको कारण माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ ।

नेपालको क्वाटरफाइनल औपचारिकता मात्रै बाँकी देखिन्छ । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाडमा क्रिकेटलाई पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ ।

दीपेन्द्र बने ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी
अलराउन्डर दीपेन्द्र सिंह ऐरी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गर्नेक्रममा उक्त कीर्तिमान बनाएका हुन् ।

१९ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । दीपेन्द्रले त्यसपछि मंगोलियाका अल्ताङ्खुयाग मुनगुनलाई लगातार पाँच छक्का हानेका थिए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

२० औं ओभरको पहिलो बलमा कुशल मल्लले एक रन लिँदै दीपेन्द्रलाई स्ट्राइक दिएका थिए । दोस्रो बलमा छक्का हान्दै ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका थिए । यसअघि कुनैपनि नेपाली ब्याटरले ६ बलमा ६ छक्का हानेका थिएनन् ।
भारतीय ब्याटर युवराज सिंह ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् । उनले २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडलाई लगातार एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । उक्त खेलमा युवराज सिंहले १२ बलमा अर्धशतक पूरा गरेका थिए । त्यो कीर्तिमान दीपेन्द्रले तोडेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का दक्षिण अफ्रिकाका हर्षल गिब्स, भारतीय युवराज सिंह, वेस्टइन्डिजका काइरन पोलार्ड र अमेरिकाका जसकरण मल्होत्राले प्रहार गरेका छन् । गिब्सले २००७ मा नेदरल्यान्ड्सविरुद्ध प्रहार गरेका थिए । पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध र त्यसै वर्ष मल्होत्राले पपुवा न्युगिनीविरुद्ध प्रहार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७