चितवनका पुष्पा र अञ्जली कोशीटप्पु पुगे


१० आश्विन २०८०, बुधबार
Rhino pushpa anjali koshi tappu

चितवन । चितवनका दुई पोथी गैँडा पुष्पा र अञ्जली कोशीटप्पुमा स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई बुधबार कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको हो ।

पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग खोरमा राखेर कोशीटप्पु पुर्‍याइएको थियो । जसलाई वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ । कोशीटप्पु पुर्‍याइएका पुष्पा र अञ्जलीलाई बस्नको लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ । पानीसहितको घाँसे मैदान क्षेत्रमा रहने गैँडा आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहने छन् ।

कोशीटप्पु पुर्‍याइएका पुष्पा र अञ्जली दुवै टुहुरा बच्चा हुन् । उनीहरू दुवैको बच्चा अवस्थामा उद्धार गरिएको थियो । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएर बढेकी पुष्पाको उमेर ३ वर्ष ८ महिना र अञ्जलीको उमेर २ वर्ष ५ महिनाको रहेको छ । वंश विस्तारको योजनाअनुसार कोशीटप्पु पुर्‍याइएका दुई पोथी गैँडा प्रजननयोग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ ।

AKJ Inaruiwa RSS

आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार पोथी गैँडा ४ वर्ष र भाले गैँडा ६ वर्ष पुगेपछि प्रजनन योग्य हुन्छन् । पुष्पा र अञ्जलीलाई छोड्न वन तथा वातावरणमन्त्री डाक्टर महतो कोशी टप्पु पुगेका थिए । उनले मानिससँगको घुलमिल रुचाउने पुष्पा र अञ्जलीका लागि कोशीटप्पु उपयुक्त बासस्थान भएको बताए । मन्त्री महतोकाअनुसार आरक्षमा लगिएका दुई पोथी गैँडा वंश विस्तारका लागि ल्याइएको हो । केही समयमै काठमाण्डौँबाट भाले गैँडा कोशीटप्पु ल्याइने समेत उनले जानकारी दिए ।

मन्त्री महतोले कोशीटप्पुलाई अर्नासँगै हात्ती र गैँडा अवलोकनसमेतको आकर्षक गन्तव्य बनाउने सरकारको योजना रहेको बताए । उनले आरक्षमा छिट्टै बाघ समेत स्थानान्तरण गरी ल्याउने बताए । उनका अनुसार बाघ ल्याउन वातावरणीय अध्ययनको काम थालिएको छ । कोशीटप्पुबाट २०७३ सालमा वंश विस्तारका लागि भन्दै १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज पठाइएका थिए । सोही क्रममा अर्नाको सट्टामा गैँडा दिइने बताइएको थियो । सोही अनुरूप निकुञ्जमा हुर्किएका पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७