एमाले बागमतीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट रामेछापका कैलाश ढुंगेल अध्यक्षमा विजयी भएका छन् ।
एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतसहितको समर्थन मिलेका ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन् । अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत ल्याए भने पराजित भएका दाहालले ४३९ मतमा चित्त बुझाए । बिहीबारसम्म दाहालको पक्षमा देखिएको माहोल रातारात बदलिँदा ढुंगेलले बाजी मारे ।
अध्यक्ष ओलीको चाहना अनुसार सर्वसम्मत गराउने प्रयास विफल भएपछि शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मतदान भएको थियो । उक्त मतदानमा ढुंगेल र दाहाल दुवै जना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षमा उम्मेदवारी दिएका पाँचमध्ये तीन जना पछि हट्दा दुई जनाबीच चुनाव भएको थियो ।
अर्कातिर उपाध्यक्षमा दावादोर्जे लामाले जित निकालेका छन् । उनी अध्यक्षमा विजयी ढुंगेल प्यानलका हुन् । उता सचिवमा भने अध्यक्षमा पराजित दाहाल प्यानलका नवराज सिलवाल विजयी भएका छन् । सिलवाल ढुंगेल प्यानलका हस्त पण्डितभन्दा एक मत धेरैले विजयी भएका हुन् । सिलवालले ५६८ मत पाउँदा पण्डित ५६७ मत ल्याउँदै पराजित भए ।
खुला उपसचिवमा ढुंगेल प्यानलबाट प्रेमकुमार महर्जन ५९९ मतसहित विजयी भएका छन् । महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामा ५३६ मतसहित विजयी भएकी छन् । शुक्रवार दिउँसो सवा १ बजेदेखि सुरू भएको मतदान साँझसम्म भएको थियो । ११७२ जना मतदातामध्ये ११३१ जनाले हालेका थिए । ४१ जना अनुपस्थित भएको निर्वाचन समितिका संयोजक डिल्ली मैनालीले बताए ।