भक्तपुरमा ऐतिहासिक मुपात्र जात्रा आरम्भ


१४ आश्विन २०८०, आईतवार
Mupatra Jatra File photo Q4wthJEQ6L

भक्तपुर । इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु हुने भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा यहाँ तीन दिन मनाइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा भक्तपर नगरको टोल–टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीन पटक घुमेर तरबारले हान्ने गर्दछ ।

जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । इतिहासकारका अनुसार याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आज तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई सँला गणेशजात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह) मा पुर्‍याइन्छ ।

जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरूपमा बलिसहितको सरकारी पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोल तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बालिसकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।

इन्द्रजात्रासम्बन्धी लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो प¥र्या । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरूको बगैँचामा प्रवेश गरे । दैत्यहरूले पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरूसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो ।

दैत्यहरूले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरूले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन् । सो क्रममा दैत्यहरूलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सो अनुसार मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिन्छ । त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७