कांग्रेसका मन्त्री फिर्ता बोलाऔं, समाजवादी मोर्चालाई नै सरकार चलाउन दिऔं : गगन

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिनु पर्ने बताएका छन् । आज (आइतबार) काठमाडौंमा रुपान्तरण अभियानले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् ।
उनले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायम राखी मन्त्री मात्र फिर्ता बोलाउनुपर्ने बताए । उनले भने, ‘अढाई वर्ष समाजवादी मोर्चाले सरकार चलाओस् त्यसपछिको अढाई वर्ष कांग्रेस एक्लै चलाउँछ । त्यसपछि भएन भने कांग्रेसले गरेन भन्न मिल्छ ।’
महामन्त्री थापाले २०८४ को चुनावमा कांग्रेसले गठबन्धन नगर्नेसमेत बताए । उनले भने, ‘८४ मा चुनावी गठबन्धन हुँदै हुँदैन । कांग्रेसभित्र कुरै गर्न पाउँदैन ।’ उनले गठबन्धन गर्दा डेमोक्रेसीको आत्मा मारेको टिप्पणी गरे । महामन्त्री थापाले अहिलेको प्रदेशको काम नभएको समेत बताए । उनले कानुन नबनाएकाले प्रदेश प्रभावकारी बन्न नसकेको बताए । उनले भने, ‘प्रदेश कामकाजी छैन । हामीले कानुन बनाएका छैनौँ । कार्यालय राखिदिएका छौँ । पंगु बनाइदिएका छौँ ।’
उनले अगाडि भने, ‘मुख्यमन्त्री माओवादीले सरकार ढाल्ने भयो बनेर मन्त्रालय फुटाउन के गर्ने भनेर काठमाडौंमा हुनुहुन्छ रे । म खोजिरहेको छु । हिजो केन्द्रीय समितिबाट निर्णय गरेका होइनौँ ? यस्ता मुख्यमन्त्री गए जाओस् तर मन्त्रालय थप्दिन भन्न सक्नुपर्छ ।’ उनले अहिलेको समानुपातिक प्रणालीप्रति पनि आक्रोश पोखे । उनले भने, ‘बार्दलीबाट यसो हेर्यो तपाईं चाहिँ सांसद भन्यो भै त हाल्यो । यस्तो प्रणालीले चल्छ ?’