बझाङ भूकम्प : ठाउँ–ठाउँमा भत्किए घर, पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । बझाङ केन्द्रविन्दु भएर आज गएका दुई भूकम्पको धक्काले ठाउँ ठाउँमा क्षति पुर्याएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पले बझाङका धेरै ठाउँमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्ध भएको छ । यस्तै, बझाङमा अहिले टेलिफोन नेटवर्कले पनि काम गरिरहेको छैन । भूकम्प मापनकेन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि आजै २ बजेर ४० मिनेटमा ५.३ रेक्टरको भूकम्प गएको थियो ।
त्यस्तै, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ । बझाङ तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको जानकारी दिइन् ।
उनले भनिन्, ‘मानवीय क्षतिको विवरण आइसकेको छैन । कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको अवस्था छ ।’ भूकम्पले बाटोहरुमा पहिरो आएको उनको भनाइ छ । ‘पहिरो आएर बाटो बन्द भएको छ । ‘हामी अहिले घर बाहिर छौँ ,’ उनले भनिन् । क्षतिको थप विवरण आउन बाँकी छ ।