पर्यटक आकर्षित गर्न जङ्गलमा कृत्रिम ताल


१८ आश्विन २०८०, बिहीबार
Tal Bgl scaled 1
फाइल फोटो

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण गरिने भएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बाग्मती प्रदेश सरकारको सहयोगमा कृत्रिम ताल निर्माण गरिने भएको हो ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिले जलजले ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल निर्माण गरिन लागेको हो । यसअघि प्रदेशको पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले डिभिजन कार्यालयमार्फत ताल निर्माण गर्न लागको हो ।

प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माण गर्न गत वर्ष डिपिआर तयारपछि प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदनलाई केही परिमार्जन गरी ताल निर्माणार्थ रुख कटानका डिभिजन वन कार्यालयमा प्रक्रिया अघि बढाइएको छ । रुख कटानको आदेश आएपछि काम अघि बढाइने कार्यालयका डिभिजन प्रमुख इन्जिनियर मनिष महर्जनले बताए ।

कार्यालयका अनुसार ताल निर्माणका लागि तीन सय सात वटा रुख कटान गर्नुपर्ने छ । महर्जनले ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध निर्माण गरिने बताए । उक्त पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्बाइको हुनेछ । उनका अनुसार पहिलो चरणमा ताल निर्माण हुनेछ भने दोस्रो चरणमा टिकट घरलगायत पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचनाका अन्य पूर्वाधार निर्माण गरिने छ ।

यस्तै तालमा डुङ्गा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राृकतिक सौन्दर्यीकरण सजावटका काम हुने जनाइएको छ । साथै चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी तालको संरक्षण गर्ने योजना बनाइने छ । यस्तै ताल क्षेत्र वरपरका रुखमा ‘ट्रि हाउस’ र ‘ट्रि सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ ।

ताल निर्माणका लागि चालु आर्थिक वर्षमा पहिलो चरणमा रु एक करोड बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । तालसहितका उल्लेखित संरचना निर्माण गर्न रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । ताल निर्माण सम्पन्नपछि सङ्घीय राजधानी काठमाडौँको नजिकको एक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको छ । हाल बहुउद्देश्यीय परियोजनाका रुपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागत रुपमा लगिएको काभ्रेपलाञ्चोकका सांसद गोकुल बाँस्कोटाले बताए । उनका अनुसार बनेपाको वासुकी क्षेत्र र हिलेजलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो । यस्तै तीन वर्षअघि सङ्घीय पर्यटन मन्त्रालयको सशर्त अनुदानको रु १५ लाख डिपिआरलगायतका लागि पहिलो बजेट विनियोजन गरिएको थियो ।

सानो पोखरीमा अवस्थित हिले जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व छ । नगरकोटस्थित महादेव पोखरी र हिले जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किवदंती छ । यस्तै वासुकी नाग हिलेजलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास गर्दै आइएको छ । हरेक वर्ष घुम पुर्णिमा (ज्याःपुन्ही) को दिन पनौतीमा लाग्ने जात्रामा हिलेजलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दै आएको छ ।

वासुकि नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कदा पहिलेकै अवस्थामा आउने किंवदन्ती पनि पाइन्छ । वासुकी नागले पनौतीको भ्रमण गर्दा उहाँको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आएको स्थानीय कृष्णप्रसाद दाहालको भनाइ छ । हिलेजलजले क्षेत्रलाई धार्मिक, साँस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७