बदनियत राखेर अपराधका दोषीलाई माफी दिइयो, सरकारले जवाफ दिनुपर्छ : गगन थापा


१८ आश्विन २०८०, बिहीबार
Gagan Thapa scaled

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगल ‘डन’ लगायत व्यक्तिलाई कुन आधारमा आममाफी दिइएको हो सरकारले जानकारी गराउनुपर्ने बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधान दिवसका अवसरमा गम्भीर फौजदारी मुद्दामा जेल सजाय भोगिरहेकाहरूले कसरी आममाफी पाउन मिल्छ ? भन्दै प्रश्न गरे । गलत निर्णय गर्ने सरकारले सार्वभौम संसदमा उभिएर जवाफ दिनुपर्ने भन्दै उनले सभामुखले सोहीअनुसार रुलिङ गर्न माग गरे ।

‘यो गलत निर्णय भएको छ । सरकारले यहाँ उभिएर कारण बताउनु पर्छ । यसको जवाफ दिनुपर्छ । निर्णय आफू गरेर भाग्न पाइँदैन, जवाफ दिनुपर्छ’, थापाले भने । सरकारमा जो रहे पनि संविधानको छिद्र चिर्दै गम्भीर अपराधका दोषीलाई कैद माफी दिन नहुनेमा उनले जोड दिए । कानुनविपरीत काम गरेर मन्त्रिपरिषद्ले राष्ट्रपति संस्थालाई विवादमा तानेको थापाले बताए ।

‘६७० जनालाई माफीमिना गरिएको छ । संविधानको मर्मविपरीत गम्भीर अपराधको दोषीलाई कैद माफी गरिएको छ । बदनियत ढंगबाट भएको निर्णय गलत छ । यसको विरोध स्वाभाविक छ । विरोध हुन्छ, हामी गछौँ’, उनले भने । यो विषय अदालतमा पुगेको र अदालतमाथि पनि प्रश्न उठाइएको भन्दै उनले संविधान निर्माणपश्चात् गठित सरकारहरूले कानुनको छिद्र प्रयोग गरिरहेको उल्लेख गरे । यसलाई सच्याउन कानुन संशोधन गर्नुपर्ने उनले बताए ।

कानुनले गम्भीर फौजदारी अपराधका विषयमा स्पष्ट लेखेको भन्दै उनले किन कैद मिनाहा गरियो ? भन्ने प्रश्न गरे । कानुन संशोधन नगर्ने भए फागुन ७ मा पनि यही घटना दोहोरिने उनको भनाइ छ ।

‘ठूलो आर्थिक अनियमितता छ यसमा । हामीले अब कानुन फिर्ता लिएर संशोधन गरेर परिमार्जन गर्नुपर्छ । कानुनी छिद्र प्रयोग गर्नेक्रम बढ्दो छ । त्यसकारण भोलि गएर कानुनी अपव्याख्या गर्न नसक्ने बनाउन कानुन संशोधन हुनुपर्छ’, थापाले भने, ‘यो भएन भने फागुन ७ मा यस्तो घटना हुन्छ । भविष्यमा पनि गलत गर्न नदिन निर्देशन दिन र कानुनको प्वाल बन्द गर भनेर सभामुखले भन्न अनुरोध गर्दछु । सरकारले नसके सदनमा ल्याओस्, हामी प्वाल टाल्छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७