पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने


१९ आश्विन २०८०, शुक्रबार
Pakistan vs Afaganistan

काठमाडौँ । चीनको हाङझावमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

पाकिस्तानले अफगानिस्तानलाई जितको लागि ११६ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले १७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । अफगानिस्तानको लागि नुर अलि जाद्रनले ३९ रनको योगदान दिए भने कप्तान गुल्बादिन नैबले अविजित २६ रनको योगदान दिए ।

पाकिस्तानका अरफत मिनहास र अस्मान कदिरले समान दुई-दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि ओमैर युसुफले सर्वाधिक २४ रनको योगदान दिए भने अमेर जमलले १४ रन बनाए । त्यस्तै अरफत मिनसले १३ तथा रोहिल नजिरले १० रन बनाए । अफगानिस्तानका फारिद अहमदले तीन विकेट झारे भने क्विस अहमदले दुई विकेट लिए । भारत र अफगानिस्तानबीचको फाइनल खेल भोलि हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७