चिन्दै नचिनेका नेतालाई भोट हाल्दा परिणाम जस्तो पनि हुन सक्छ : अध्यक्ष ओली

‘प्रदेश अधिवेशनलाई लिएर विरोधीले एकोहोरो टिप्पणी गरे’


१९ आश्विन २०८०, शुक्रबार
KP Oli 1696589066

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशनलाई लिएर विरोधीहरुले एकोहोरो टिप्पणी गरिरहेको बताएका छन् । आज (शुक्रबार) पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले सर्वसम्मत नेतृत्व चयन गरेर अर्को मौका दिन आग्रह गरे ।

‘हाम्रा विपक्षीहरुले अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिका टिप्पणी गर्न पाएका छन् । यो अधिवेशनले अर्को टिकाटिप्पणी गर्ने मौका दिओस्’, उनले भने, ‘अहिलेसम्म लडे भिडे भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डेमोक्रेसी नै भएन भन्ने मौका पनि दिऔँ ।’

उनले चुनावमा सबैले नजित्ने भएकाले पार्टीमा सहमति गर्दा नै उपयुक्त हुने बताए । ‘सबैले जित्ने होइन । नजित्नेको मन दुख्छ । त्यसैले सहमतिमा नै गयो भने कसैको मन दुख्दैन । किन मन दुखाउने’, ओलीले भने, ‘उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको देखिन्छ । त्यस्तो नगरौँ ।’

ओलीले नेतृत्वले कार्यकर्ताको कामको मूल्यांकन गरिरहेको हुने बताएका छन् । नेतृत्वको मूल्यांकनमा भर नपर्दा नतिजा जस्तोसुकै आउन सक्ने उनको भनाइ छ । ‘नेतृत्वको मूल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्छ । एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको हुँदैन’, ओलीले भने ।

उनले अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे । ओलीले आफ्नो खुसीले चुनाव लडेर निराश भएको टिप्पणी गरे । ‘कतिपय ठाउँमा हेरिरहेको छु म । चुनाव आफ्ना खुसीले लड्छन् । जितेकामा उन्माद चढे जस्तो देखिने । हारेकामा निराश, खिन्न जस्तो देखिने । त्यस हिसाबले पार्टीको आन्तरिक चुनावलाई लिनु हुन्छ र ?’ ओलीले प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७