प्रधानसेनापति शर्मा बेलायत प्रस्थान


०७:२५ बजे

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा छ दिवसीय औपचारिक भ्रमणका लागि उनी बेलायत गएका हुन् ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे । प्रस्थान गर्नुपूर्व प्रधानसेनापतिलाई जङ्गीअड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।
बेलायतमा रहँदा प्रधान सेनापतिले वेल्स, ब्रेकनस्थित सेन्नीबृज तालिम शिविर क्षेत्रको भ्रमण गर्नाका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेयन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन् । भ्रमणका दौरान प्रधान सेनापतिको बेलायती समकक्षी जनरल स्यान्डर्ससँग शिष्टाचार भेटघाट हुनेछ ।

त्यस्तै, उनले बेलायती सेनाका स्थल युद्ध विभागका निर्देशक रोयल कलेज अफ स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्ड्रस्टका प्रमुखहरुसँग भेटघाट गर्नुका साथै गोर्खाहरुको ब्रिगेडको समेत भ्रमण गर्नेछन् । प्रधानसेनापतिको भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् ।

यसैबीच, प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बेलायत भ्रमण सकेर प्रधान सेनापति यही असोज २७ गते स्वदेश फर्कर्ने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७