महाकाली नदी किनारमा खुला बिचभलिबल हुने


२३ आश्विन २०८०, मंगलवार
volly ball
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी किनारामा एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ ।
यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलो पटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो ।

आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिचभलिबल आयोजना गरिने जानकारी गराएको छ । नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल सङ्घका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताए । ‘शुक्लाफाँटाबाट झोलुङ्गे पुल हुँदै भाइरल रोडसम्म पर्यटक आवागमन बढ्ने अनुमान छ’, उनले भने, ‘त्यसका लागि सरकारी संयन्त्र र भलिबल सङ्घबीच सहकार्य भएर प्रतियोगिता आयोजना हुँदैछ ।’ खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले रु एक लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी द्वितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिनुभयो । त्यसैगरी भेट्रान (चालीस वर्षभन्दा माथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिम रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमिति समेत गठन गरिएका छन् भने प्रतियोगिता सञ्चालनका लागि भीमदत्त , बेदकोट र दोधारा चादँनी नगरपालिकाबाट पनि आवश्यक सहजीकरण भइरहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सेनाको बाहिनी, गण र गुल्मका सैनिक अधिकृतका साथै भलिबल सङ्घका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७