पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति


२७ आश्विन २०८०, शनिबार
culture mustang

म्याग्दी । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।

मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीस्थित थकाली सामुदायिक होमस्टे (घरबास) का सञ्चालक जुमा थकालीले बताइन् ।

‘पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहासिक दरबार मात्र नभएर बस्तीअनुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ’, उनले भनिन्, ‘भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुङ, तिजी र फागुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाई लम्बाउन सहयोग मिलेको छ ।’

ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका–५ हुसरकाङ डाँडास्थित कुुछप तेरङ्गा गुम्बामा शुक्रबार सकिएको लामा नाच (धेक्याप) अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो । कुछप तेरङ्गा गुम्बा संरक्षण समितिका अध्यक्ष कुलबहादुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताए ।

‘पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुन्थे’, उनले भने, ‘केही वर्षयता परम्परागत नाच प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ ।’ सडक यातायातको सुविधा, प्रचारप्रसार आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको थकालीको भनाइ छ । मुस्ताङको प्रमुख गुम्बामा वर्षमा एक पटक लामा नाच हुने गर्छ । कुछप तेरङ्गा गुम्बामा लामा नाच प्रदर्शनीका लागि यही असोज २३ गतेदेखि पूजाआजा सुरु भएको थियो ।

लामाहरुले उवाको पिठो, घ्यूलगायत सामग्रीको प्रयोग गरेर बनाएको पूजा सामग्रीलाई धार्मिक विधिअनुसार गुम्बामा भित्र्याएर सुुरु भएको उक्त नाचको विधि ती सामग्री सेलाएपछि सकिएको गुम्बाका लामा सुवास थकालीले बताए । ‘पद्यसम्भको पाला आठौँ शताब्दीदेखि लामा नाच देखाउने चलन छ । देवताका विभिन्नरुपलाई लामा नाचमा प्रस्तुत गरिन्छ’, उनले भने, ‘लामा नाच अवलोकन गरेमा पुण्य प्राप्त हुनुका साथै ग्रह दशा हट्ने र जीवनमा सफलता मिल्छ । तेह्र सय वर्षदेखिको लामा नाचलाई बचाएर राखेका छौँ ।’

सो अवसरमा बौद्ध धर्मगुरु पद्यसम्भको जीवनसँग सम्बन्धित सन्देशमूलक १३ प्रकारका नाच प्रदर्शन गरिएको थियो । हसन, टोपी बज्राचार्य, हयग्रीब, गुुरु पद्यम सम्भव, क्रोधी गुरु र सिंहमुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुुष्ट राजा र एक डाकु शिर्षकको नाच प्रदर्शन गरिएको हो ।

लामा नाच अवलोकन गर्न आएका भारतको तामिलनाडुका रञ्जित झाले मुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिकसँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकामा खुसी व्यक्त गरे । अमेरिकी पर्यटक रेमिनले धेरै वर्ष पुरानो संस्कृति अझै जीवित देख्दा दङ्ग परेको बताए । यसपालिको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीवासीले आर्थिक सहयोग गरेका थिए । प्रवासीको सहयोगमा ठिनीदेखि गुम्बासम्म निःशुल्क बस, भक्तजनलाई भोजन र खाजाको व्यवस्थापन गरिएको थियो । बौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ ।

ठिनीमा हाल २२ जनाभन्दा बढी लामा छन् । ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामा नृत्यका लागि गुम्बामा आएका छन् । कुछप तेरङ्गा गुम्बाको धार्मिक र पर्यटकीय सम्भावना छ । पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ढुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङलगायतका भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७