‘बीआरआई’ सम्मेलनमा सहभागी हुन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान


२९ आश्विन २०८०, सोमबार
Narayankaji 1 1

काठमाडौँ । ‘बीआरआई’ सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज सात सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका छन् । बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका हुन् ।

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुँदैछ । सो कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिने जनाइएको छ । सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए ।

Narayankaji 2 1

वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर हुन् । उपप्रधानमन्त्री श्रेष्ठ र वाङबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुने बताइएको छ । सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने रात्रिभोजमा श्रेष्ठ सहभागी हुनेछन् । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी बताइएको छ ।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तराष्ट्रिय परियोजना हो । भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायत सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७