गुवेखोलामा दुई करोड २६ लाखमा पक्की पुल, एक घण्टाको बाटो सात मिनेटमा छोटियो


२९ आश्विन २०८०, सोमबार
Pul guwnekhola tanahu
सांकेतिक तस्वीर

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर आज उद्घाटन गरिएको हो । पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले पुल निर्माणसँगै यस भेगका नागरिकको दैनिकी परिवर्तन हुने विश्वास व्यक्त गरे ।

यसअघि पुलको अभावमा आवागमनमा सास्ती हुने गरेकामा अब सहज भएको भन्दै कृषि उपज तथा अन्य वस्तु बिक्री वितरणका लागि सहयोग पुग्ने उनले बताए । ‘प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको छ । पुल, सडक, खानेपानी लगायतका क्षेत्रमा सरकारको सहयोग सदैव रहन्छ’, आलेले भने, ‘प्रदेशलाई समृद्ध बनाउँदै नगरवासीलाई आधारभूत सेवा र सुविधा उपलब्ध गराउने अभियानमा सरकार लागिरहेको छ ।’

दुई करोड २६ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उनका अनुसार विसं २०७७ पुस २८ गते उक्त पुलको शिलान्यास गरिएको थियो । पुल २० मिटर लामो र ६ मिटर चौडा रहेको छ । साबिकको थप्रेक गाविसलाई वडाको केन्द्रदेखि नगरको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचमा ल्याउने उद्देश्यले पुल निर्माण गरिएको नगर प्रमुख पण्डितले बताए ।

‘पुल निर्माण, सडक कालोपत्रलगायत पूर्वाधार विकासले मात्र समृद्धि आउँदैन । समृद्धिका लागि कृषिमा विकास तथा उत्पादनसँग जोडिनपर्छ’, उनले भने । पुल बनेपछि थप्रेकवासीले उत्पादन गरेको कृषि उपज बजारमा पुर्‍याउन सहज हुने नगर प्रमुख पण्डितको भनाइ थियो । गुवेखोलामा पुल नहुँदा थप्रेकवासीलाई बर्खाको समयमा निकै समस्या हुने गरेको थियो । अब उक्त समस्या हटेको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले बताए ।

उनका अनुसार पुलकै अभावमा पाँच-सात मिनेटमा आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ । तनहुँको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई विसं २०१८ मा सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो । तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक हुँदै कोत्रेसम्म यो मार्ग जोडिने भएकाले यसलाई दमौलीबाट पोखराका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग गरिँदै आइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७