उपप्रधानमन्त्री श्रेष्ठ चीनको छेन्दुमा, बेहिबेरमै बेइजिङ जाने


२९ आश्विन २०८०, सोमबार
narayankajichina

छेन्दु (चीन) । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुगेका छन् । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र यहाँस्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरे ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । उनी छेन्दुस्थित थियान्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरमा चीनको बेइजिङ प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिआरएफ)’ मा सहभागी हुनेछन् ।

उनले यही असोज ३० र आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारेको छलफलमा मुख्यवक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ । वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा स्टेट काउन्सिलर हुन् । भ्रमणका सिलसिलामा उनी चिनियाँ राष्ट्रपति सि चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । बिआरआइ सम्पर्क सञ्जाल, पूर्वीय सभ्यताको विकास, देशबीचको सहयोग एवम् भाइचारा र पर्यावरणलगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्वपूर्ण अन्तर्राष्ट्रिय परियोजनाका रुपमा रहेको छ । चीनले २०१७ मा पहिलो र २०१९ मा यस्तो सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको सहभागिता हुने बताइएको छ । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७