अर्जुन र आकाशको शानदार प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य


२ कार्तिक २०८०, बिहीबार
u 19cricket V1NubcC8XF
फाइल फोटो

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।

युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो । नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे । ५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई-दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक÷एक विकेट लिए । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई-दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू–१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ । हाल भइरहेको यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ ।

समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ । समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ ।

जापान २ खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अंक छ । दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ । यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू–१९ एसिया कपमा छनोट हुनेछन् । मलेसिया जानुअघि नै नेपालले यू–१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७