दुई किलो चिनी किन्न धादिङबाट काठमाडौँ आएर दिनभर लाइनमा


२ कार्तिक २०८०, बिहीबार
line

काठमाडौँ । बजारमा चिनी नपाएपछि धादिङका सर्वसाधरण चिनीका लागि काठमाडौँ आए र दिनभर लाइनमा बस्न वाध्य भएका छन् ।

नेपालीको मुख्य चाड दशैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई काठमाडौँको कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेशनमा आएका हुन् । नेपालीले धेरै मात्रामा चिनी प्रयोग गर्ने दशैँ, तिहार र छठको समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताए ।

उनले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी किन्न धादिङदेखि काठमाडौँ आउनुपर्ने बाध्यता सरकारको लापर्बाहीकै कारण भएको भन्दै आक्रोश पोखे । भट्टराईले धादिङका पसलमा चिनी नपाएको र पाए पनि किलोको एक सय ६० रुपैयाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङदेखि दुई किलो चिनी किन्न काठमाडौँ आउनु परेको गुनासो गरे ।

चिनी किन्न सहुलियत पसलमा आएकी सावित्रा उप्रेतीले दुई घण्टा लाइन लाग्नुपरेको बताइन् । सरकारले सञ्चालन गरेको सहुलियत पसलभन्दा बाहिरका पसलमा चिनी नपाएको भन्दै दुई किलो लिन भए पनि लाइनमा बसेको उनले बताइन् । हरेक वर्ष चाडबाडमा सास्ती बेहोर्दै आए पनि सरकारको ध्यान नगएको उनले गुनासो गरिन् ।

चिनी किन्नका लागि कीर्तिपुरबाट कालीमाटीको सहुलियत पसलमा आएकी पवित्रा थापाको पनि उस्तै गुनासो छ । उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताइन् । उनले दुई किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताइन् । साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई दुई किलोका दरले उपलब्ध गराउने बताए । उनले सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्तालाई खाली हात नपठाउने बताए ।

निर्देशक झाले चिनी अभाव हुने विषयमा गएको जेठमा सरकारसँग आग्रह गरे पनि सरकारले तत्कालीन समयमा स्वीकृति नदिँदा अहिले समस्या आएको बताए । उनले सरकारले समयमै स्वीकृति दिएको भए अहिले बजारमा अभाव नहुने बताए । चिनी खरिद प्रक्रिया अगाडि बढाए पनि चाडपर्वमा ल्याउन नसकिएको उनले बताए । साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७