एनआरएनए विवादको अन्तरकथा : ‘धाँधली’ की प्राविधिक त्रुटि ?


२०८० कार्तिक ४ शनिबार ०७:१३ बजे

काठमाडौं : उत्साह र तामझामको साथ ३० असोज २०८० मा काठमाडौंमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन बिहिबार (३ कात्तिक २०८०) को झिसमिसे सुरु नहुँदै भाँडभैलोमा परिणत भयो । डा. बद्री केसी निर्वाचित भएको घोषणापछि अध्यक्षका अर्का दुई प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मत परिणाम आफूहरूलाई स्वीकार्य नहुने बताएपछि भाँडभैलोमा परिणत भएको हो ।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको ‘भेरो भोटिङ’ कम्पनीलाई जिम्मा दिएको थियो । कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ ३ कात्तिकको बिहान पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो । उम्मेदवारहरुविच कम्पनीले पठाएको विवरण जस्ताको तस्तै सार्वजनिक गर्ने पूर्व सहमित अनुसार नजिता प्राप्त हुन साथ सार्वजनिक निर्वाचन समितिले जनाएको छ ।

३० असोजमा गैरआवासीय नेपाली संघ ११ औँ महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरू शर्मा र श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका थिए । निर्वाचन समितिद्घारा घोषणा गरिएको नजिता अनुसार केसीले १३७८ , शर्माले १२८१ र श्रेष्ठले १२२५ मत प्राप्त गरे । उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले प्राप्त गरेको मतलाई देखाएर शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेका हुन् । शर्मा र श्रेष्ठको जिकिर छ, ‘अनलाइन भोटिङ गराउने अष्ट्रेलियाको कम्पनी भेरो भोटिङ कम्पनीको सिस्टम ‘ह्याक’ गरेर डा.केसी समूहले ‘धाँधली’ गर्यो ।’

डा. पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखिएपछि शर्मा र श्रेष्ठले सिस्टम ‘ह्याक’ गरेर डा.केसी समूहले ‘धाँधली’ गरिएको दाबी गरेका थिए । काठमाडौंबाट ८०० ले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामकाे बिरोध भएको थियो । एनआरएनएको ११ औं महाधिवेशनमा ४२ सय २५ कुल मतदाता थिए । ती मध्ये ३९ सय ५८ अर्थात् ९३.७ प्रतिशतले मतदान गरेका थिए । प्रवासबाट भएको अनलाइनबाट डा.पौडेलले १२ सय ४४ मत प्राप्त गरेका थिए । तर नेपालबाट उनको मत शून्य देखिएपछि विवाद सुरु भयो ।

अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीले पठाएको मत परिणाममा डा.पौडेलको मत शुन्य (काठमाडौं तर्फ) देखिएपछि निर्वाचन समितिले विद्युतीय भोटिङ मेसिन ‘भेरो भोटिङ’ निर्माण कम्पनीसँग यसबारे वास्तविक जानकारी लिई सत्यतथ्य व्यहोरा प्रकाशित गर्ने भन्दै राति नै विज्ञप्ति जारी गर्यो ।

अध्यक्षमा निर्वाचित डा.केसी आफैले पनि ‘भेरो भोटिङ’सँग वास्तविक जानकारी नलिई बाँकी कार्यक्रम गर्न नहुने मत राखे । ३ कात्तिकमा आयोजित पूर्वनिर्धारित समान कार्यक्रम स्थगित गरियो । अध्यक्षत्रय डा. केसी, कुल आचार्य र रविना थापाले सूचना जारी गरेर निर्वाचन प्रक्रिया पनि स्थगित भएको जानकारी दिइयो ।

सूचनामा भनिएको थियो, ‘कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटि कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ । यससँगै निर्वाचन प्रक्रिया पनि स्थगित भएको छ ।’

‘भेरो भोटिङ’सँगको संवादमा सन्तुष्ट तर बाहिर विवाद

निर्वाचन परिणामलाई अस्वीकार गरेर शनिबार होटल हिमालयमा भेला भएका शर्मा र श्रेष्ठको समूह

सबै निर्वाचन प्रक्रिया स्थगित गरेपछि निर्वाचित अध्यक्ष डा.केसी, दुई प्रत्याशी शर्मा र श्रेष्ठ सहित निर्वाचन समितिका संयोजक यादव ढुङ्गाना, मना केसी, चिरञ्जिवी ढकाल, सोनम लामा, प्रकाश धमला ‘भेरो भोटिङ’ कम्पनीका सञ्चालक तथा प्राविधिकसँग जुम बैठकमा सहभागी भए । जुम बैठकमा पूर्व अध्यक्ष जीबा लामिछाने, कुमार पन्त, संस्थापक भिम उदास, रामप्रताप थापा पनि सहभागी थिए । यसैगरी जुम बैठक प्रतिनिधिहरुको लागि पनि खुल्ला गरिएको थियो ।

उपाध्यक्ष डा.विनोद श्रेष्ठका अनुसार निर्वाचनमा भएको प्राविधिक त्रुटि बारेमा डा.केसी, शर्मा र श्रेष्ठले ‘भेरो भोटिङ’का सञ्चालकसँग पालै-पालो प्रश्न गरेका थिए । डा.केसीले सोधेका थिए, ‘कुनै कमजोरी गर्नुभएको छ भने तपाईहरु अदालतमा उभिन वा कारबाहीको भागीदार बन्न तयार हुनुहुन्छ ?’ डा.केसीलाई ‘भेरो भोटिङ’का सञ्चालकहरुको उत्तर थियो, ‘हामी त्यसको लागि तयार छौं ।’

‘भेरो भोटिङ’को अनुसार डा. केशव पौडेलको अन्तिम स्पेलिङमा प्राबिधिक त्रुटि भएको थियो । प्रवासबाट गरिएको मतदानमा डा.पौडेलको अन्तिम अल्फाबेट ‘भी’ कायम भएको थियो । तर नेपालाबाट भएको मतदानमा अन्तिम स्पेलिङ ‘बी’ कायम भएको थियो । देशबाहिर अर्थात् ‘भी’का मात्रै काउन्ट गरिदा समस्या उत्पन्न भएको थियो । पछि ‘चेक’ गर्दा नेपालबाट उनलाई ३ सय ५६ मत प्राप्त भएको थियो । प्रवासबाट १२ सय ४४ र नेपालबाट ३ सय ५६ मत गरी १६ सय मत प्राप्त गरी उनी उपाध्यक्षमा विजय भएको ‘भेरो भोटिङ’ले उल्लेख गरेको छ ।

उपाध्यक्षमा निर्वाचित डा. श्रेष्ठका अनुसार ‘भेरो भोटिङ’का सञ्चालकहरुसँग भएको संवादमा ‘धाँधली’का आरोप लगाएका शर्मा र श्रेष्ठको समूह पनि सन्तुष्ट भएका थिए । डा.श्रेष्ठले भने, ‘उम्मेदवारका सबै प्रत्यासी, निर्वाचन समिति, पदाधिकारीका उम्मेदवारहरु र सबै प्रतिनिधिहरुलाई खुल्ला राखेर गरिएको जुम बैठकमा उहाँहरुले पालैपालो जिज्ञाशा राख्नुभयो । भेरो भोटिङका सञ्चालक तथा प्राबिधिकहरुको प्रष्टीकरणबाट उहाँहरु सन्तुष्ट हुनुहुन्थ्यो । तर बाहिर गएर फेरि बिरोध गर्नुभएछ ।’

‘भेरो भोटिङ’ले अपडेटिङ्ग र अडिटिङ्ग गरेर अन्तिम नतिजा सहितको घोषणापछि निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले शनिबार (४ कात्तिक २०८०) राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराएको छ ।

भेरोले यदि यो निर्वाचन परिणाममा कसैले कानूनी चुनौति दिएमा संसारका जुनसुकै अदालतमा जान तयार रहेको समेत अवगत गराएको छ । भेरोको उक्त प्रष्टीकरणमा निर्वाचन समिति आश्वस्त पद तथा गोपनीयताको शपथ गराएको निर्वाचन समितिका संयोजक यादव ढुङ्गानाले बताए ।

हेर्नुहोस् भेरोको प्रष्टीकरण :

निर्वाचन समितिका अनुसार अध्यक्षमा डा. केसी, उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी (राज), रामशरण सिम्खडा र रोबिन प्रसाद शेरचन, महासचिवमा गौरीराज जोशी विजयी भएका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा विजयी भएका छन् ।

यसैगरी उपमहासचिवमा प्रविन गुरुङ र सोम सापकोटा तथा सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह निर्वाचित भएका छन् । यस्तै महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा तथा सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत निर्वाचित भएका छन् ।

हेर्नुहोस् भेरो भोटिङले प्रकाशित गरेको नजिता :

यसरी छानिएको थियो ‘भेरो भोटिङ’
शनिबार होटल सोल्टीमा डा.केसी सहितलाई सपथ गराइरहेको बेला उता राजधानीको होटल हिमालयमा अध्यक्ष्मा पराजित शर्मा र श्रेष्ठसहितले अर्को भेला गरीरहेका थिए । उनीहरुको उही दाबी थियो, ‘अनलाइन भोटिङ गराउने अष्ट्रेलियाको कम्पनी भेरो भोटिङ कम्पनीको सिस्टम कब्जा गरेर डा.केसी समूहले ‘धाँधली’ गर्यो ।’ उनीहरुले यही दाबी सहित शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा समेत गरे ।

शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए । उनले भने, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरूले धाँधली गरेर जितेको स्पष्ट हुन्छ ।’ मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको उनको दाबी छ। सहमति विपरित आजै शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि हुने उनको जिकिर छ ।

अध्यक्षमा निर्वाचित डा.केसीले अष्ट्रेलियाको कम्पनी भेरो भोटिङ कब्जा गरेर धाँधली गरेका आरोप शर्मा र श्रेष्ठको छ । तर, अनलाइन भोटिङ्गको जिम्मा दिने निर्णय भने अध्यक्षमा पराजित शर्मा र श्रेष्ठ सहभागी रहेको समितिले नै गरेको थियो । निर्वाचन गराउनको लागि अनलाइन भोेटिङ्ग कम्पनी छनोट गर्नका लागि गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले ५ सदस्सीय समिति बनाएको थियो ।

हेर्नुहोस् समिति :

समितिमा तत्कालिन उपाध्यक्ष रहेका अध्यक्षमा पराजित आरके शर्मा, तत्कालिन उपाध्यक्ष तथा अध्यक्षमा पराजित महेश श्रेष्ठ, तत्कालिन उपाध्यक्ष भुषन घिमिरे, तत्कालिन महासचिवद्धय गौरीराज जोशी, डा.केशव पौडेल र कोषाध्यक्ष सुनिल शाह थिए । समितिको २ अक्टोबर २०२३ मा बसेको बैठकले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको थियो ।

अष्ट्रेलियाको ‘भेरो भोटिङ’ कम्पनी २० वर्षअघि स्थापना गरिएको ख्यातीप्राप्त प्रविधि कम्पनी हो । यसले अष्ट्रेलियाका दर्जनैं सरकारी अनलाइन भोटिङ्ग सफल रुपमा सम्पन्न गराएको छ । एनआरएनएको रेकर्ड अनुसार यसले एनआरएनएको ९ देशको अनलाइन भोटिङ्ग यसअघि गराएको थियो । अमेरिका, अष्ट्रेलिया कतार, माल्टा, बेलायत, क्यानडा, जापान, कतार लगायतका देशको निर्वाचन गराएको थियो ।

हेर्नुहोस् समितिको निर्णय :

अध्यक्ष डा.केसीले भेरो भोटिङ कम्पनीसँग मिल्यो वा कब्जा गर्यो भन्नु हास्यास्पद र बिडम्बनापूर्ण भएको उपाध्यक्ष रामशरण सिम्खडाले बताए ।

भेरो भोटिङ कम्पनीसँग आफूलाई जोडेर आरोपित गरेकोमा आफू आश्चर्यचकित भएको अध्यक्ष डा.केसीको भनाई छ । उनले भने, ‘जसले मलाई आरोप लगाइरहनु भएको छ, अनलाइन भोटिङको लागि भेरो भोटिङ कम्पनी छनोट उहाँहरुले गर्नुभएको हो । अर्कातिर प्राबिधिक त्रुटिको बारेमा भेरो भोटिङ कम्पनीले स्पष्ट पनि पारीसकेको छ । सबै स्पष्ट भएर पनि गलत दाबी भइरहेको सुन्दा मलाई दुःख लागेको छ ।’

अध्यक्ष डा.केसी भन्छन्, ‘निस्पक्ष छानविन गरौं, कोही नभागौं’

शनिबार सपथ ग्रहण लगत्तै नवनिर्वाचित कार्यसमितिको बैठक केन्द्रीय सचिवालय बालुवाटारमा राखिएको छ । बैठकले मत परिणामको बारेमा उब्जिएको प्रश्नको छानविन गर्न अन्तराष्ट्रिय समिति बनाउने र त्यसका लागि अध्यक्षका प्रत्यासी शर्मा र श्रेष्ठलाई पत्र पठाउने निर्णय गरेको छ । बैठकले डा.केसी, शर्मा र श्रेष्ठको प्रविधि विज्ञ अथवा तीनैजनाले तोकेको प्रविधि कम्पनी रहेको छानविन समिति बनाउनका लागि नाम माग्ने निर्णय गरिएको उपाध्यक्षा डा. श्रेष्ठले बताए ।

पदभार ग्रहणपछि निर्वाचित नयाँ कार्यसमिति

डा.केसीले भेरो भोटिङ कम्पनी गराएको अनलाइन भोटिङ्गको बारेमा अन्तराष्ट्रिय मान्यता प्राप्त आइटी कम्पनी वा आइटी विज्ञ  राखेर छानविन गराउन आफू तयार रहेको बताए । उनले भने, ‘विसुद्ध सेवा भावको पवित्र उद्देश्यले प्रेरित भएर हामी यो अभियान र आन्दोलनमा सामेल भएका हौं । विवादले कसैलाई फाइदा गर्दैन । अझै केही प्रश्न वा आशंका भए यसको अनुसन्धान गरौं । निस्पक्ष छानविन गरौं । तर, यही देखाएर बिखण्डन वा अभियानबाट केही पनि नभगौं ।’

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइै प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने अध्यक्ष डा. केसीको भनाई छ । ‘कही कतै कमजोरी रहेछ भने हामी पद छोड्न तयार छौं,’ डा.केसीले भने ।

लेखक चिनारी

राजेश राई
राई नयाँ पेजका प्रधान सम्पादक हुन् । लेखकका अरु सामाग्री
प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७