कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक


५ कार्तिक २०८०, आईतवार
Kalika mandir baglung

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ ।

घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार लाख पर्यटक आएको उनले बताए ।

मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटक समेत कालिका मन्दिरमा आउन थालेपछि धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । अध्यक्ष खड्काका अनुसार विगतको तुलनामा यसपटकको दसैँमा भक्तजनको संख्या बढेको छ भने बलीको संख्या भने घटेको छ । कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली दिने गरिन्छ । परेवाको बली निषेध गरिएको छ ।

दसैँको फूलपातीदेखि कालिका मन्दिरको पार्किङमा सवारी नअटेपछि वैकल्पिक पार्किङको व्यवस्थापन गरिएको छ । हाल कालिका मन्दिरको पार्किङमा दुई पाङ्ग्रे सवारी र वैकल्पिक पार्किङ व्यवस्थापन गरिएको रामरेखा सामुदायिक वन कार्यालयको प्राङ्गणमा चार पाङ्ग्रे सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

मन्दिरमा बागलुङसहित छिमेकी जिल्लाहरु म्याग्दी, मुस्ताङ, पर्वत, चितवन, बुटवल, काठमाडौँ, स्याङ्जा, पोखरालगायतका स्थानबाट मानिसहरु दर्शनका लागि आउनेगरेको अध्यक्ष खड्काको भनाइ छ । पाँच सय वर्ष पुरानो कालिका मन्दिरमा पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका काराण धार्मिक पर्यटक बढेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७