धुमधाम घुमघाम : यी हुन् दशैंमा घुम्न सकिने १० गन्तव्य, कसरी पुग्ने ?


६ कार्तिक २०८०, सोमबार
Torism

काठमाडौं । नेपालीहरुको घरमा दशैं भित्रिसकेको छ । दशैंमा सरकारले पनि लामो बिदा दिने गरेको छ । दशैं बिदामा साथीभाइ, परिवारसँग घुम्ने रमाइलो गर्ने सबैको चाहना हुन्छ । तर कहाँ घुम्ने भन्नेबारे द्वविधा भने धेरैलाई हुन सक्छ ।

नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसनका प्रतिनिधि छिरिङ दोर्जे शेर्पा एक साताको दशैं बिदामा दूधकुण्ड ताल, कञ्चनजंगा बेस क्याम्प, लाङटाङ, अन्नपूर्णलगायतका ठाउँ उपयुक्त गन्तव्य हुन सक्ने बताउँछन् । उनी दशैं बिदामा यीमध्ये कुनै एक गन्तव्य घुमेर दसैं धुमधाम बनाउन सकिने बताउँछन् ।

इलाम–ताप्लेजुङ
पूर्वी नेपालको धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङसम्मको यात्राको योजना बनाउन सक्नुहुन्छ । ताप्लेजुङमा कहाँसम्म पुग्ने, त्यो तपाईसँग उपलब्ध समयमा भर पर्छ । ओलाङचुङगोलादेखि पाथिभरा जहाँ पुगे पनि यो यात्राले निकै रोमाञ्चकता दिनेछ । धरान–धनकुटामा किराँत–राई समुदायको घरमा दशैंको टीकासम्म बिताउनुहोस् । उनीहरु सेतो अक्षताको टीका लगाएर दशैं मनाउँछन् । केही फरक अनुभव तपाईले पाउनु हुनेछ ।

ilam

त्यसपछि इलाम हुँदै ताप्लेजुङसम्म जान सक्नुहुन्छ । यो रुट फोटोग्राफीका लागि पनि उत्तिकै आकर्षक छ । अब ढकमक्क फूल्ने सयपत्रीले बारीका डिल ढाक्न थालिसकेका छन् । पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा त अविश्मरणीय नै बन्नेछ ।

घलेगाउँ–घनपोखरा होमस्टे
तपाईले आफ्नो समुदायको दशैं त हरेक वर्ष देखिरहनु भएको छ । यस वर्ष फरक खालको दशैंको अनुभव लिने कि ? त्यसका लागि ग्रामीण जनजीवनमा रमाउने गरी यात्राको योजना बनाउन सक्नुहुन्छ । लमजुङका दुई चर्चित गाउँ घनपोखरा र घलेगाउँ पर्छन् ।

Ghalegaun

बारीमा लहलह झुलेको कोदो होस या सयपत्री फूलले ढकमक्क ढाकेका आँगनीका डील, तपाईंको मन बहलाउन पर्याप्त हुनेछन् । यहाँका गुरुङ समुदायसँगै बसेर दशैंको अनुभव लिनुहोस । ‘अर्गानिक दशैं’ को वास्तविक स्वाद उनीहरुले पस्किनेछन् । गाउँको स्वच्छ वातावरणमा केही दिन हिँडेरै बिताउनुहोस, शहर फर्कदा अर्कै उमंग प्राप्त हुनेछ ।


कञ्चनजंघा बेस क्याम्प
विश्वको तेस्रो अग्लो हिमालका नामले परिचित छ कञ्चनजंघा । जसको उचाइ रहेको छ ८ हजार ५५६ मिटर । विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) भन्दा २६२ मिटरमात्रै होचो छ यो कञ्चनजंघा । विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) भन्दा कञ्चनजंगा २५ मिटर मात्रै होचो छ । जसको मनमोहन दृश्य अति नजिकबाट नियाल्न बेस क्याम्प पुग्नुपर्ने हुन्छ। काठमाडौंबाट ८–१० दिनसम्ममा कञ्चनजंघाको दुवै बेसक्याम्प पुगिन्छ ।
कसरी जाने ?
काठमाडौंबाट भद्रपुरसम्म जहाजमार्फत जान सकिन्छ । अथवा, बिर्तामोडसम्मको गाडीमा पनि जान सकिन्छ । बिर्तामोडबाट जिपमा ताप्लेजुङको फुङ्लिङसम्म जान सकिन्छ । त्यहाँबाट थिवासम्म फेरि गाडी परिवर्तन गर्नुपर्छ । आफ्नै रिजर्भ सवारी हुँदा सहज हुन्छ । अर्को बाटो ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ ।

Kanchanjangha
फाइल फोटो

ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म रहेका आठ वटा क्याम्पमा पैदलै यात्रा गर्नु पदर्छ । उत्तरी बेस क्याम्प पुगिसकेपछि घुन्सा झरेर दक्षिणी बेसक्याम्प जान सकिन्छ । त्यहाँ पुगेपछि कन्चनजंगाको काखैमा बसेर मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

दूधकुण्ड ताल
सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर र कार्यालुङ हिमालको काखमा रहेको छ दूधकुण्ड ताल । यी दुवै हिमालबाट आएको पानी जमेर बनेको यो ताल समुद्री सतहदेखि झण्डै ४ हजार ७ सय मिटरको उचाइमा छ । यहाँ रमणीय विशाल तालदेखि नजिकै नुम्बुर र कार्यालुङ हिमालको अवलोकन गर्न सकिन्छ ।

dudhkunda

सदरमुकाम सल्लेरीबाट झण्डै २० कोसको दूरीमा रहेको यो स्थानसम्म आइपुग्न पैदल यात्रा नै गर्नुपर्छ । भौगोलिक रुपमा अत्यन्तै विकट भए पनि प्राकृतिक सुन्दरताको खानी छ । दूधकुण्ड ताल मात्र नभएर भूतपोखरी, गंगा जमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । यो तालको यात्रा गर्न ५-७ दिन छुट्याउनु पर्छ ।

कसरी जाने दूधकुण्ड ?
काठमाडौं कोटेश्वरदेखि बस, जीप तथा मोटरसाइकलको प्रयोग गरी सडकमार्गबाट करिब १० घण्टामा सल्लेरी पुगिन्छ । हवाई मार्गबाट जाँदा भने त्रिभुवन विमानस्थलबाट झण्डै ४५ मिनेटको उडानमा नै सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा पुगिन्छ ।

त्यस्तै काँगेल विमानस्थल पनि नजिकै रहेको हुँदा यहाँबाट पनि सजिलै सदरमुकाम सल्लेरीसम्म पुग्न सकिन्छ । सदरमुकाम सल्लेरीबाट रिङमुसम्म सडक छ । पैदल हिँड्दा भने फाप्लु, चिवाङ, फेरा हुँदै झण्डै ४ घण्टामा रिङमु पुग्न सकिन्छ । गाडीबाट हो भने १ घण्टामा पुगिन्छ । रिङमुसम्म अत्यन्तै राम्रो बाटो तथा बास बस्नका लागि विदेशी तथा स्वदेशी पर्यटकका लागि उपयुक्त हुने खालका लज तथा होटलहरु प्रशस्तै पाइन्छन् ।

रिङमुबाट नाम्चेतर्फ जाने बाटो छोडेर दूधकुण्डतर्फ जाने बाटोतर्फ लाग्नुपर्छ। रिङमुबाट सरकारीपाटी हुँदै बाटो अघि बढाउनु पर्छ । त्यहाँको घना जंगलमा सुनपाती, लेकाली फूलको मिठो बासना र चराचुरुङ्गीको आवाजले यात्रालाई झनै आनन्ददायी बनाउने गर्छ। झण्डै ३ घण्टा उकालो हिँडेपछि कामीडाँडा पुगिन्छ । कामीडाँडामा पुग्दा ४÷५ बजेको भए बास बस्दा उपयुक्त हुन्छ। कामीडाँडाबाट यात्रा गर्दा जोङले खोला, गामटाङ हुँदै सहस्रबेनीमा पुगेर बास बस्न पर्छ । भोलिपल्ट बिहान दूधकुण्डको यात्रा तय गर्नुपर्छ। सहस्रबेनीबाट दूधकुण्डसम्म ३ घण्टा हिँडेपछि पुगिन्छ ।

लाङटाङ
लाङटाङ दशैं बिदामा यात्राका लागि उपयुक्त गन्तव्य हो । जुन संघीय राजधानी काठमाडौंबाट नजिकै र छोटो समयमा पुगिन्छ । गोसाइकुण्ड र लाङटाङ हिमालको रमणीय दृष्यावलोकन गर्न सकिन्छ ।

langtang

एक हजार सात सय १० वर्ग किलोमिटरमा फैलएिको लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ मानिने रातो हाब्रे लगायत ४६ जात स्तनधारी र तीन सय १५ थरीका पंक्षी पाइन्छन् । धार्मिकस्थल गोसाइकुण्ड र क्याञ्जिङ उपत्यका लाङटाङका प्रमुख आकर्षण हुन् । क्यान्जिङ उपत्यका समुद्री सतहबाट ४ हजार मिटरको उचाइमा रहेको छ । यही उपत्यकामा लाङटाङ खोलाको उद्गमस्थल रहेको छ ।
कसरी जाने ?
काठमाडौंबाट एक सय २० किलोमिटर बसमा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ । त्यहाँबाट सुरु हुन्छ, लाङटाङको पदयात्रा । स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको किनार हुँदै कटुसको सुगन्ध र गुराँसका रंगीबिरंगी जंगलको दृष्यापान गर्दै यात्रा गर्न सकिन्छ । यहाँ सुविधासम्पन्न लजहरु पनि छन् । साढे दुई दिनको यात्रामा खाम्जङि, शेर्पा गाउँ, रिम्चे, लामा होटेल, घोडा तबेला, लाङटाङ गाउँ हुँदै पदयात्राको अन्तमि गन्तब्य क्यान्जिङ पुगिन्छ ।

क्यान्जिङबाट दुई घण्टा उकालो लागेपछि क्याञ्जिङ री पुगिन्छ । रीबाट आँखै अगाडि लाङटाङ हिमाल देखिन्छ । सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै ६ हजार मिटरभन्दा अग्ला चाङ्बु र युब्रा हिमाल पनि देखिन्छन् । दुई हिमालको बीचबाट बग्ने लरिुङ हमिनदी र त्यसबाट बनेको ताल छन् । यस्तै उत्तरपूर्वमा देखिने ५५ सय मिटर अग्लो याल्ला पिक, दक्षिण पश्चिममा देखिने सेर्गो री, काङजा हिमाल तथा दक्षिणमा काग्रा हिमालका कारण क्यान्जिङ री, लाङटाङ छुटाउनै नहुने गन्तव्य हुन् ।

अन्नपूर्ण
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग । विश्वका उत्कृष्ट दश पदमार्ग भित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ । यो क्षेत्रमा पदयात्रा गर्दा सबै स्थानमा टी–हाउस भएकोले पनि अन्य पदमार्ग जस्तो पैदल यात्रीलाई समस्या हुँदैन । ठाउँ–ठाउँमा थकाइ मार्न र चिया–कफीको तलतल मेटाउन सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लजहरु छन् । यस कारण पदयात्राका क्रममा खान र बस्न सहज हुन्छ ।

annapurna ACAP

अन्नपूर्ण हिमालको काखैमा बसेर अन्नपूर्ण साउथ, अन्नपूर्ण थर्ड, माछापुच्छ्रे, टेन पिक आदि हिमशिखरको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । यहाँ पुग्न ५-७ दिनको समय छुट्याउनु पर्छ ।

कसरी पुग्ने ?
लमजुङको बेसीशहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भनिन्छ । बेसीशहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोरङपास हुँदै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ । यस बाहेक पोखरादेखि पुनहिल हुँदै अन्नपूर्ण बेस क्याम्प पुगेर पुनः पोखरा आउनलाई ११ दिन छुट्याउनु पर्छ ।

शे–फोक्सुण्डो
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा फैलिएको छ। यसको क्षेत्रफल ३,५५५ वर्ग किलोमिटर छ । यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो तथा एक ऐतिहासिक शे गुम्बा रहेका छन् । शे–फोक्सुण्डो ताल ३९०० मिटरको उचाइमा डोल्पा जिल्लामा अवस्थित छ । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ ।

se foksundo

कसरी पुग्ने ?
हवाई यात्रामा नेपालगञ्जबाट सिधै डोल्पाको जुफाल विमानस्थलमा उत्रेर त्यहाँबाट पैदल त्रिपुरा हुँदै तालसम्म पुग्न सकिन्छ । स्थलमार्गबाट यहाँ जान बाँकेको कोहलपुर पुग्नुपर्छ । त्यहाँबाट सुर्खेतको छिन्चु हुँदै दायाँ लागेर जाजरकोटको सदरमुकाम खलंगा हुँदै रिन्मा पुग्नुपर्ने हुन्छ ।

भेरी नदीको छेउछेउ खलंगाबाट रिन्मासम्म बसको यात्रा गर्नुपर्ने हुन्छ । रिन्माबाट रुकुमको त्रिवेणीसम्म जीपको यात्रा गर्नुपर्छ । त्रिवेणीबाट खादान र त्रिपुराकोट हुँदै तालसम्म पुग्न सकिन्छ । त्रिवेणीबाट अगाडि पैदल यात्रामा अगाडि बढ्नुपर्ने हुन्छ । हिमालको बाटो चट्टानमा हिँड्नु पर्ने भएकाले त्यहाँ पुग्न अलि धेरै दिन छुट्याउनुपर्ने हुन्छ ।

मुस्ताङ
उपल्लो मुस्ताङ पदयात्राका लागि मुस्ताङको चर्चित र लोकप्रिय क्षेत्र हो । विशेष गरी यो मौसममा उपल्लो मुस्ताङ घुम्न लायक गन्तव्य हो । पहिले तिब्बती साम्राज्यको एक भागको रुपमा रहेको ल्हो क्षेत्र संस्कृति र भौगोलिक दृश्यको अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा आश्चर्यजनक चट्टानहरुले घेरिएको र मरुभूमि जस्तो देखिने भौगोलिक दृश्यको बीचमा गाँउहरु र त्यहाँका हरिया खेतहरुले मरुभूमिको बीचमा बगैँचा जस्तो देखिन्छ । यस क्षेत्रमा नौतले गुफा, मौलिक संस्कृति, जीवनशैली, मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । मुस्ताङको यात्राका लागि एक साता समय छुट्याउनु पर्छ ।

manang mustang tourism

कसरी पुग्ने ?
आफ्नो सवारी भए काठमाडौँबाट गाडीमा माथिल्लो मुस्ताङसम्म पुग्न सकिन्छ । जोमसोम पुगेर फेरि बाट उपल्लो मुस्ताङसम्म गाडीमार्फत जान सकिन्छ । काठमाडौंबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ। जोमसोमदेखि छुसाङसम्म जिपको यात्रा गर्नुपर्छ । बाटोमा पर्ने खोलामा मोटरेबल पुल नभएकोले पैदल पुल तरेपछि फेरि अर्को गाडी चढेर माथिल्लो मुस्ताङ ६ घण्टामा पुग्न सकिन्छ । पैदल यात्रा गर्दा तीन दिन लाग्छ ।

खप्तड
सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने यो धार्मिक र प्राकृतिक रुपमा संरक्षित क्षेत्र हो । यो समुद्र तहबाट ३ हजार मिटरको उचाइमा छ । खप्तड बाबाको नामबाट चर्चित यो क्षेत्र बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ । यहाँ हरियाली हल्का भिरालो चोउरहरु, खोला नाला र घाँसे मैदान गरेर २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । यो मौसममा हरियालीले ढाकिएको हुन्छ ।

khaptad

खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन् । फूल फुलेका फाँटको किनारमा रुखहरु हितको सुन्दर बगैँचा दृष्यवलोकन गर्न पाइन्छ । यहाँ २७० प्रजातिका चरा पाइन्छन् । खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिकस्थलहरु पनि छन् । जसले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन्। खप्तड क्षेत्रका रहेका ठूला–साना गरी २२ वटा फाँट पनि आकर्षणका केन्द्र हुन् ।

कसरी पुग्ने ?
खप्तड पुग्न कैलालीको धनगढीसम्मको यात्रा गर्नुपर्छ । धनगढीबाट डोटीको सिलगढीसम्म बसमा आठ घण्टाको यात्रा गरेपछि पैदल हिँड्नुपर्छ । सिलगढीबाट बगलेगसम्म जिप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ । सिलगढीबाट सुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ ।

यस्तै अछामको साँफेबगरबाट झिग्रानासम्म २ घण्टाको बस यात्रा र त्यहाँबाट ८ घण्टाको पैदल यात्रामा खप्तडबाबाको आश्रम पुग्न सकिन्छ । त्यहाँबाट खप्तड दह, सहस्र लिङ्ग, नाग दह, त्रिवेणी धाम छन् । काठमाडौंबाट कम्तीमा ६ देखि १० दिन छुट्याउँदा हुन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज बाघ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान हो । हाल बबई उपत्यका निकुञ्जमा सबैको आकर्षण बनेको छ । द्वन्द्वकालमा बन्दरहेको निकुञ्जको चुरे क्षेत्रमा रहेको छ । उपत्यकासम्म पुग्न राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वाराबाट करिब १० घण्टाको पैदल यात्रा वा जंगल सफारी पनि गर्न सकिन्छ ।

bardia national park 3

यो उपत्यकाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ । निकुञ्जमा राजस्व तिरेर बबईमा माछा मार्ने व्यवस्था पनि गरिएको छ। तर माछा मारेर खान पाइँदैन । निकुञ्जको ७० प्रतिशन भूभाग साल र यसको सहायक प्रजातिका बनस्पतिले ढाकिएको छ । बाँकी ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुङ्गी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन् ।
कसरी सकिन्छ पुग्न ?
पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जबाट दुई घण्टाको बस यात्रापछि सहजै पुग्न सकिने यस निकुञ्ज पूर्व–पश्चिम राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा छ । यसका करिब ५ दिन छुट्याउँदा हुन्छ । बाघ हेर्नको लागि भने केही दिन कुर्नु पर्ने हुन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७