प्रचण्ड, ओली र माधवले जुठोका कारण लगाएनन् दसैंको टीका


७ कार्तिक २०८०, मंगलवार

काठमाडौं । दसैंको टीका शुरु भइसकेको छ । संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानका सर्वसाधारण धमाधम आफ्ना अभिभावकबाट टीका थापिरहेका छन् । मान्यजनको हातबाट टीका र जमरा लगाउन नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा भएका छन् । उनीहरुले मान्यजनको हातबाट टीका र जमरा लगाएका छन् ।

यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कतिपय शीर्ष नेताले भने विजयादशमीको टीका लगाएनन् । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयका अनुसार तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक प्रधानमन्त्रीको परिवारमा दसैँ छैन ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द अचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले यस पटक पारिवारिक भेटघाट मात्र गर्नेछन् । उनले भने, ‘यसअघिका वर्षमा पनि प्रधानमन्त्री प्रचण्डले सामान्य रूपमा पार्टीको कामको सिलसिलामा जहाँ हुनुहुन्थ्यो, त्यतै दसैँ मनाउने गर्नुहुन्थ्यो । टीका पनि लगाउने गर्नु हुन्न थियो । यस पटक त झन् शोकमै भएकाले हुने कुरै भएन ।’

प्रचण्डले गत वर्ष आफूले टीका नलगाएपनि परिवारका सदस्यलाई लगाइदिएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसपाली विजयादशमीको टीका लगाएका छैनन् । यसै बर्ष ठूलीआमाको निधन भएकाले ओलीको परिवारमा टीकाटालो नलगाएको सचिवालयले जनाएको छ । आफूले टीका नलगाएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि यस वर्ष टीका लगाएका छैनन् । सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका कारण नेपालले यस पटक टीका नलगाएका हुन् । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले भने, ‘उहाँ फूलपातीको दिन रौतहट जानु भएको छ । उहाँको कान्छो भाइको निधन सात महिनाअघि मात्रै भएकाले उहाँको टीका लगाउने कार्यक्रम छैन । ’ पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिवारमै टीकाटालो गरेका छन् र त्यसपछि निवासमै बसेर नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने तालिका रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७