गुटेरेसले भने–संक्रमणकालीन न्यायले पीडित परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ


१२ कार्तिक २०८०, आईतवार
devraj gutresh

काठमाडौँ । सभामुख देवराज घिमिरेल संक्रमणकालीन न्यायसम्बन्धी विषयहरु चाँडै निष्कर्षमा पुर्‍याइने बताएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग सिंहदरबारमा आइतबार भएको भेटवार्ताका क्रममा सभामुख घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानवीन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउने जानकारी गराएका हुन् ।

‘दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ, आशा छ हामी निकट समयमा नै ऐन निर्माण गर्नेछौं’, उनले भने । ‘नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालिन विद्रोही पक्षवीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिवद्वता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ,’ घिमिरेले थपे । ‘नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पुर्‍याएको स्मरण गर्दछु । नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको थियो ।’

नेपाल भगवान गौतम बुद्धको देश भन्दै उनले नेपाली शान्तिप्रिय रहेको र नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धी विश्वका लागि नै मोडेल बन्न सक्ने बताए । सभामुख घिमिरेले भने, ‘विश्वका कतिपय देशहरुमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टिकृत प्रयासहरु उदाहरण बन्न सक्छ ।’

महासचिव गुटेरेसले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गर्दछु,’ गुटेरेसले भने । त्यसअघि आइतबार नै गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन् । गुटेरेस प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आइतबार विहान आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७