महासचिव गुटेरेसको हस्ताक्षर कीर्ते गरी अढाई करोड ठगेको अभियोगमा सुरुची कारागार चलान


१५ कार्तिक २०८०, बुधबार
suruchi

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा रहेका बेला उनको हस्ताक्षर कीर्ते गरी ठगी गरेको अभियोगमा एक महिला कारागार चलान भएकी छन् । महासचिव गुटेरेसको हस्ताक्षर कीर्ते गरी ९० जनाबाट अढाई करोडा बढी रुपैयाँ ठगी गरेको अभियोगमा एक नेपाली महिला पुर्पक्षका लागि कारागार चलान भएकी हुन् ।

पोखरा–५ की सुरुची भुजेलले महासचिव गुटेरेसको हस्ताक्षर कीर्ते गरि ९० जना बढीलाई ठगी गरेकी हुन् । भुजेललाई जिल्ला अदालत काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ । उनले संयुक्त राष्ट्रसंघमार्फत टर्की पठाउने आश्वासन दिएर पीडितहरूबाट अढाई करोड बढी रकम उठाएकी थिइन् ।

भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत महिना पक्राउ गरेको थियो । भूकम्पले क्षतिग्रस्त टर्कीका सहरको पुनर्निर्माणका लागि राष्ट्रसंघमार्फत लैजाने भन्दै सुरुचीलगायतले झुक्याएर ठगी गरेका थिए । महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको कामको अफर देखाएर उनीहरूले पैसा उठाएका थिए । ९० जना पीडितले दुई करोड ५९ लाख ७९ हजार पाँच सय रुपैयाँ ठगी गरिएको भन्दै सिआइबीमा जाहेरी दिएका थिए ।

सोही आधारमा अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा दायर गरिएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । उनलाई सात वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको थियो । प्रहरीले सुरुचीका श्रीमान विनोद श्रेष्ठ र भाइ सुजन भुजेललाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । ठगीका मुख्य योजनाकार विनोद भएको प्रहरीले जनाएको छ । पीडितहरूले दिएको जोहरीअनुसार युएन टर्कीको लेटर प्याडमा राष्ट्रसंघका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको अफरलेटर देखाइएको थियो । सोही पत्रका आधारमा विश्वासमा परेर उनीहरूले पैसा बुझाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७