आगमी निर्वाचनमा कसले कति सिट जित्ला, यस्तो छ गुप्तचरको गोप्य रिपोर्ट


प्रकाशित मिति : October 25, 2017

काठमाडौं : वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली काँग्रेसका नेताहरूले भनेझैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला ? या, यी सबै कुराहरू कागजी बाघ मात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत् प्रश्नको जवाफ खोजिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालै जासुसी संयन्त्रले एउटा विश्लेषणात्मक रिपोर्ट बुझाएको छ । त्यसमा आगामी निर्वाचनमा वाम गठबन्धन कुन स्थितिमा रहन्छ, नेपाली काँग्रेसले प्रत्यक्ष तथा समानुपातिकमा कति सिट र प्रतिशत ल्याउन सक्छ, एमाले र माओवादीले कति–कति मत र स्थान आफ्नो पक्षमा पार्ने सम्भावना छ भन्नेदेखि लिएर संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा, नयाँ शक्ति नेपाल र अन्य दलहरूले प्राप्त गर्नसक्ने प्रत्यक्षतर्फका सिटसंख्या र समानुपातिकबाट ल्याउन सक्ने प्रतिनिधित्वको समेत आँकलन गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७४ मा पार्टीहरूले प्राप्त गरेको मतसंख्या तथा प्रतिशत, त्यसपछि बढेका मतदाता संख्या र त्यसको सम्भावित बाँडफाँडसमेतको आधारमा दलहरूको भविष्यबारे गरिएको आँकलनले नेपाली काँग्रेस दोस्रो बन्ने देखाएको छ ।

गठबन्धनमा सामेल गराउन काँग्रेसले राजपाको मागबमोजिम सिट उपलब्ध गराउने दबाव झेल्नु पर्नेछ भन्दै वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको विश्लेषण गर्न विगतका निर्वाचनहरूमा प्राप्त मतलाई समेत आधार बनाइएको छ । नेपाली काँग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २६ प्रतिशत विजय हासिल गरेको थियो भने समानुपातिकतर्फ २९.८ प्रतिशत मत पाएको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा उसले जम्मा ३३ प्रतिशत मत हासिल गरेको देखिन्छ जबकि एमालेले ३४ प्रतिशत मत हात पारेको थियो । प्रत्यक्षतर्फ ०७० मा जम्मा २४ प्रतिशत र समानुपातिकतर्फ जम्मा २८ प्रतिशत मत प्राप्त गरेर दोस्रो बनेको एमाले अब पहिलो बन्छ भन्ने आधार नै ०७४ को स्थानीय तह निर्वाचनमा उसले प्राप्त गरेको मत प्रतिशत हो । माओवादी केन्द्र ०७० भन्दा धेरै नखस्किएको तथ्यांकले देखाउँछ । त्यसबेला प्रत्यक्षतर्फ १५ प्रतिशत र समानुपातिकतर्फ १७.७९ प्रतिशत मत पाएको माओवादीले स्थानीय तह निर्वाचनमा पनि १७ प्रतिशत मत ल्याएको छ ।

संविधानसभाको दोस्रो निर्वाचनको बेलाभन्दा अहिले मधेशी फोरम पनि धेरै खस्किएको देखिँदैन । त्यसबेला पनि ४ प्रतिशतको हाराहारीमा रहेको फोरमले स्थानीय तहमा सोही हैसियत कायम गरेको पाइन्छ । जबकि राप्रपा नेपाल र राप्रपाले क्रमशः ८ र ६ प्रतिशतको हाराहारीमा ०७० सालमा मत प्राप्त गरेकोमा अहिले ३ प्रतिशतको आसपासमा खुम्चिनु परेको छ । संविधानसभाको दोस्रो निर्वाचनताका १५.९३ प्रतिशत अन्य साना दललाई प्राप्त भएकोमा ०७४ सालमा त्यस्ताले जम्मा १.८३ प्रतिशतमात्र पाएको हिसावमा अब मतदाताहरू ठूला दलहरूतर्फ बढी आकर्षित भएको स्पष्ट देखिन्छ । त्यस्तो प्रवृत्तिले गठबन्धन अझ मजबुत बन्ने र सानाको अस्तित्व नामेट पार्ने सम्भावनातर्फ त्यो रिपोर्टले इंगित गरेको छ ।

वाम गठबन्धनबाट काँग्रेसीहरू जति आत्तिएका थिए त्यति अत्तालिनु नपर्ने अवस्था सो रिपोर्टले देखाएकै कारण होला चुनाव रोकी छाड्ने मनस्थितिबाट कोहीकोही विस्तारै पछि हटेको संकेत देखिँदैछ । ०७० सालको निर्वाचनमा एमाले, माओवादी केन्द्र, जनमोर्चाले समानुपातिकतर्फ क्रमशः २८, १७.७९ र ०.९८ ल्याएर जम्मा ४७.६६ प्रतिशत समानुपातिक र ४०.८० प्रतिशत प्रत्यक्ष हासिल गरेकोमा स्थानीय तह निर्वाचन २०७४ मा यी वाम दलले ५१.८७ प्रतिशत मत ल्याएको देखिएको छ ।

वाम गठबन्धनमा नेपाल परिवार दल, नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चा तथा सीपी मैनालीको मालेबाट समेत केही मत जोडिएको छ । नयाँशक्ति गठबन्धनमा नरहँदा पनि वाम गठबन्धनको पक्षमा ५१.३४ प्रतिशत मत रहेको ०७४ को स्थानीय तह निर्वाचनले देखाएको छ । सो रिपोर्टमा यही तथ्यांकको आधारमा अबको प्रतिनिधिसभामा वाम गठबन्धनका दलहरूमध्ये एमालेले ६० सिट प्रत्यक्षतर्फ जित्ने आँकलन गरिएको छ । जसमा १० सिट तलमाथि हुनसक्ने जनाइएको छ । एमालेले प्रत्यक्षतर्फ ९० सिट मात्र लिँदैछ । जबकि उसले माओवादीसँग गरिएको प्रतिशत बाँडफाँडको आधारमा १०७ सिट पाउनुपर्ने हुन्थ्यो । त्यसैगरी ५६ सिट माग गरेको माओवादीले ५३ सिट पाउनु पर्ने हुन्छ भने उसले ३५ (+– ७) सिटमा विजय हासिल गर्ने अनुमान रिपोर्टमा छ । यदि वाम गठबन्धनमा रहेको भए नयाँ शक्तिले दुई सिट जित्ने आँकलनमा उल्लेख छ । उसले प्रतिशतका आधारमा पाउनुपर्ने पनि २ सिट नै हो । तर १५ सिट दाबी ग¥यो र अन्ततः वाम गठबन्धनबाट बाहिरिई काँग्रेससँग नजिकियो ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा, परिवार दल, नेकपा संयुक्तले क्रमशः २, १, १ सिट जित्ने अनुमान सो रिपोर्टले गरेको छ । यसो हुँदा वाम गठबन्धनले प्रत्यक्षतर्फ कम्तिमा ९० र बढीमा ११० सिट जित्ने उल्लेख छ । त्यसैगरी लोकतान्त्रिक गठबन्धन बनेको अवस्थामा काँग्रेसले ५० सिट, राजपा र संघीय समाजवादी फोरमले १५, लोकतान्त्रिक फोरमले ५, राप्रपा नेपालले १ र राप्रपा गणतान्त्रिकले बढीमा ३ सिट गरी सो गठबन्धनले प्रत्यक्षतर्फ कम्तिमा ६३ र बढीमा ८० सिट जित्ने सम्भावना देखाइएको छ । तर, सो गठबन्धनमा राजपा र संसफो नरहेको हुँदा सोझै १५ सिट कम हुने देखिन्छ । रिपोर्टमा स्थानीय तह निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दै लेखिएको छ, ‘नेकपा एमालेले ३४.१४ प्रतिशत मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले ३४ प्रतिशत मत प्राप्त गरेको छ ।

यदि वाम गठबन्धनको भोट जोड्ने हो भने लोकतान्त्रिक गठबन्धनभन्दा १० लाख ३२ हजार ६७० मत अगाडि देखिन्छ । जुन ७.०६ प्रतिशतले लोकतान्त्रिक गठबन्धनको भन्दा बढी हो । तर स्थानीय तह निर्वाचनपछि १३ लाख ७३ हजार २४९ मतदाता थपिएका छन् । जसले गर्दा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको मत कति प्रतिशतको फरक पर्छ भन्न सकिँदैन । तर पनि वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा कम्तिमा ५ र बढीमा १५ प्रतिशत जति बढी मत प्राप्त गर्ने विश्लेषण गर्न सकिन्छ ।’ तर, लोकतान्त्रिक गठबन्धनको ठूलो शक्ति मानिएका राजपा र संसफो त्यहाँ नरहेको अवस्थामा वाम गठबन्धन निकै माथि पुग्ने देखिन्छ ।

रिपार्टमा दुवै गठबन्धन बनेको अवस्थामा एमालेले प्रत्यक्षतर्फ ६० (+–१०), समानुपातिक ३६ (+–५) गरी ९६ (+–१५), काँग्रेसले ५० (+–१०), ३५ (+–५) गरी ८५ (+–१५) माओवादीले ३५ (+–७), १६ (+–३) गरी ५१ (+–१०) फोरम र राजपाले १५ (+–५) ८ (+–३) गरी २३ (+–८) प्राप्त गर्ने अनुमान गरेको देखिन्छ । तर गठबन्धनमा राजपा र फोरम छैनन् भने राप्रपा र राप्रपा प्रजातान्त्रिकले क्रमशः ६ र ४ सिट तथा लोकतान्त्रिक फोरमले ८ सिट प्राप्त गर्ने उल्लेख छ । अन्य दलले ५ सिट हात पार्न सक्ने अनुमान गरिएको छ ।

-जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्