उपप्रमुख सिंहसहित ५५ जनाको दाहसंस्कार, मलामीहरू नै रोए (तस्वीरहरु)


०७:३२ बजे

काठमाडौँ । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित ५५ जनाको दाहसंस्कार गरिएको छ ।

उपप्रमुख सिंहको निधन सदरमुकाम खलंगा भएपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई नलगाड ल्याइएको थियो । जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिन अर्पण गरिएको छ । श्रद्धाञ्जली दिन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का पनि त्रिवेणी नदीमा पुगेका थिए । उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकै दिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत वितरण सुरू गरिने जानकारी दिए । ‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ, थप केही आउने क्रम जारी छ’, उनले भने, ‘जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं ।’

उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुनर्निर्माणको काममा सुरु हुने बताए । उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धता जनाएका छन् । गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपमेयर सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो । नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए । ‘पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ’, उनले भने ।

भूकम्पले ध्वस्त चोचेटोलमा १४ जनाको मृत्यु, भाग्यले बाँचेकालाई छैन बस्ने घर
भूकम्पले सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् ।

खलङ्गाबाट डेढ घण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । यहाँका सबै घर ध्वस्त भइसकेका छन् । पीडित अविलाल विकले भने, ‘हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौँ, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई यो पटकको भूकम्पले स्वाहा नै बनायो ।’ उनी जस्तै चोचे गाउँका सबै व्यक्तिको पीडा त्यस्तै छ । उनीहरुले अब आफन्त गुमाए पनि बाँचेकाको लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । यो टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

मृत्यु हुनेमा पाँच बालबालिका, सात २० वर्ष माथिका र अन्य दुई ज्येष्ठ नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । १३ जनाको भूकम्पमा परी घटनास्थलमै र एक जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए । उनीहरु तिहार मनाउन घर फर्किएकामा तिहार मनाउन नपाउँदै मृत्यु भयो ।

स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आएकी थिइन् । चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनको भूकम्पमा परी मृत्यु भयो । त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए तर भूकम्पका कारण गाउँका सबै जनाको खुसी र हाँसो आँशुमा परिणत भएको छ । यतिधेरै मानिसको एकैपल्ट दाहसँस्कार गरिंदा सबैको आँशा रसाएका थिए । मलामी गएका गाउँलेहरुलाई समेत मन थाम्न मुस्किल परेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७