चिउरी गाउँका १३ जनाको सामुहिक दाहसंस्कार, भेरी किनारमा धुँवाको मुस्लो र रुवाबासी मात्र


११:०३ बजे

जाजरकोट । भूकम्पबाट १०५ जनाको ज्यान गएपछि जाजरकोट नलगाड नगरपालिका –१ चिउरा गाउँका १३ जनाको सामुहिक दाहसंस्कार गरिएको छ ।

नलगाड नदी र भेरी नदी किनारमा १३ जनाको एकै ठाउँमा दाहसंस्कार गरियो । आइतबार दिनभरी भेरी किनार धुँवाको मुस्लोले कुहिरिमण्डल भयो । आसपासमा रुवाबासी चल्यो । जाजरकोटको रिम्ना, नलगाडदेखि रुकुम पश्चिमको आठबिसकोटसम्म भेरी नदी किनारमा सामुहिक दाहसंस्कारको दारुण दृश्यले मलामी सबैका आँखा रसाए ।

एकै गाउँकै यत्ति धेरै मानिसकघो सामुहिक दाहसंस्कारको दृष्यले सबैको मन कटक्क खाएको थियो । च्युरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो । एकै वडाका १७ जनाको मृत्यु भएकोमा च्यूरी गाउँको मात्र १३ जनाको मृत्यु भएको थियो ।

नलगाडको वडा नम्बर १ मा ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, ४ वर्षीयका सुशान्त परियार, ८ वर्षीय विनय परियार, १० वर्षीया सपना बिक, १६ वर्षीया अमृता पुन , ४ वर्षका बिशाल बिक, २४ वर्षीया मनिषा बिक, २३ वर्षीय सुजल बिक, ५८ वर्षका दत्तबहादुर कुमाईंको निधन भएको थियो। यस्तै, २४ वर्षीय भीमसेन बिक, ४ वर्षका सन्दिप बिक, २१ वर्षीया कमला बिक, ७ वर्षीय प्रदेश बिक, १४ वर्षीया बिमला बिक र १२ वर्षीय सुनिल बिकको पनि शुक्रबार राति नै घरमा पुरिएर मृत्यु भएको थियो ।

त्यस्तै १४ वर्षीया बिनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो । नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट चिउरी गाउँ पुग्न ४ किलोमिटर दूरी मात्र पार गर्नुपर्छ । यहाँ एकै घरका चार जनासम्मको ज्यान गएको छ । चिउरी टोलका हिरे कामी र उनकी श्रीमती चन्द्रकलासहित छोरा विमल र सुनिलको एकै चिहान भएको छ । अब उनको परिवारमा एउटी सानी छोरी मात्रै बाँचेको स्थानीय पार्वती चनाराले बताइन् । स्थानीय हस्तबहादुर विकले छोरा भीमसेन, बुहारी कमला र सँगै नाति सञ्जयलाई गुमाएका छन् । उनको छिमेकमा आमा मनीषा विक र छोरा विशालको पनि एकसाथ ज्यान गएको छ ।

यस गाउँमा अधिकांश दलित समुदायको बसोबास छ । कच्ची माटोले निर्माण गरिएका परम्परागत घर भएका कारण कुनै उक्त गाउँमा कुनै पनि घर सक्लो अवस्थामा रहेको छैन । भूकम्पले सबै भन्दा बढी नलगाड नगरपालिकामै गरेको छ । अहिले मृतकका आफन्तहरु , घाइतेका आफन्त तथा अन्य घर भत्किएर खुल्ला आकाशमा बसीरहेका छन् । सरकारले दिने भनिएको । राहत सामग्री अहिलेसम्म पीडित समक्ष पुग्न सकेको छैन । धेरैको अहिले न बस्ने बास छ न त खाने गाँस । पराकम्पन जाने क्रम जारी रहेका कारण सर्बसाधारणहरु त्रसित भएका छन् ।

भएको अन्न, लत्ताकपडा, भाँडाकुडा सबै घरसँगै पुरिएको अवस्थामा रहेको पीडित परिमल विकले बताए । तीन दिनदेखि खुला आकाशमा बसीरहेको उनीहरुले बताएका छन् । आकाशमा हेलिकोप्टर आउदा राहत सामग्री आयो कि भनेर आस लाग्ने गरेको कालीवान विकले बताए । उत्ता जिल्ला प्रशासन कार्यालयले एकद्धार प्रणालीबाट राहत सामग्री वितरण गर्ने भन्दै व्यवस्थित गर्न खोजे पनि त्यो पीडितसम्म पुग्न सकेको छैन ।

सदरमुकाम नजिकै केही राहत सामग्री पुग पनि ग्रामीण क्षेत्रमासम्म ती कुनै सामग्री पुग्न सकेको छैन । मृत्यु हुनेमा अधिकांश बालबालिका र बृद्धहरु छन् । नलगाड नगरपालिकामा मात्र ५४ जनाको मृत्यु भएकोमा १७ जना वडा नम्वर १ मा मात्र भएको छ । प्रति मृतकका परिवारलाइ क्रियाखर्च बाफत १० हजार आर्थिक सहयोग गर्ने नलगाड नगरपालिकाले निर्णय गरेको छ । नलगाड नगरपालिकाभित्रका ९० प्रतिशत घरहरु पूर्ण तथा आशिंक रुपमा क्षति भएको नगर प्रमुख डम्वर रावतले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७