जाजरकोट भूकम्पका १५७ मृतकमध्ये ७८ जना बालबालिका, मृत्यु हुनेमा महिला धेरै


०७:४२ बजे

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् ।

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए ।

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए । उनले भने, ‘रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुई जना १० महिनाका बालबालिकाले समेत ज्यान गुमाएका छन् ।’
मृत्यु हुनेमा महिला धेरै
भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए । रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ । बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।
आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु
रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एक जना रहेका छन् । उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । पुनमगर पुनर्निर्माण कम्पनीको गाडी चालक थिए । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७