कृषि, पर्यटन र ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान


२० कार्तिक २०८०, सोमबार
cacci1699250650

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औं क्यासी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् ।

‘नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु’, राष्ट्रपति पौडेलले भने । राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गरे । ‘नेपाली विद्युत्को बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युत्मा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु’, उनले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गरे । उनले साना र मझौला उद्यम हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राखे । ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला पनि हो । साना र मझौला उद्यम अर्थतन्त्रका मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गछन्’, उनले भने ।

राष्ट्रपति पौडेलले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताए । ‘तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु’, उनले भने ।

राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए । ‘यसले आर्थिक वृद्धिलाई मात्र होइन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न ऊर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भने, ‘व्यवसाय क्षेत्रका सङ्गठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औँजार हुन् ।’ उनले उद्यमशीलता र व्यापारले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्ने र पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरे ।

नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा भएको भन्दै उनले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच स्थापित गर्न खोज्ने व्यवसायका लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए । ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लगायतका क्षेत्रीय व्यापार सम्झौतामा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ’, राष्ट्रपति पौडेलले भने ।

नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक भएको र यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायको लागि सम्पत्ति भएको उनको भनाइ थियो । उनले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार भएको भन्दै खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गरेको उल्लेख गरे ।

प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिनेमा उनले विश्वास व्यक्त गरे । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उनले आग्रह गरे । सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र नभइ नेपालको आर्थिक विकास र दिगोपनका लागि पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७