इजराइलको चेतावनी : बेरूतलाई पनि गाजा जस्तै बनाइदिन्छौं


२६ कार्तिक २०८०, आईतवार
gallant 1699763789

काठमाडौं । इजराइलले लेबनानको राजधानी बेरूतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहको अभिव्यक्तिबारे बोल्दै इसराइलका रक्षामन्त्री योआव गालान्टले बेरूतलाई पनि गाजा जस्तै बनाइ दिने चेतावनी दिएको बिबिसीले जनाएको छ ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहले शनिबार एक टेलिभिजन सम्बोधनमा इजराइलविरूद्ध आक्रमण बढाइएको दाबी गरेका थिए । ‘दक्षिणी लेबनानबाट इजराइलमाथिको आक्रमण जारी रहन्छ । गाजामा भइरहेको इजराइल–हमास युद्धमा प्यालेस्टाइनी नागरिकहरूको समर्थनमा आक्रमण जारी रहनेछ,’ उनले भनेका थिए ।

त्यस्तै पछिल्लो एक सातायता इजराइलमाथि ड्रोन र विमानसहित शक्तिशाली मिसाइलहरू पनि प्रहार गरिएको बताएका थिए । उनले इस्लामी देशहरू इजराइलविरूद्ध एकजुट हुनुपर्ने पनि बताए । शनिबार साउदी अरबको राजधानी रियादमा भएको इस्लाम तथा अरब देशहरूको आपतकालीन सम्मेलनले इजराइललाई तत्काल संघर्षविराम गर्न अपिल गरेको बिबिसीले जनाएको छ ।

हिजबुल्लाहका नेताको अभिव्यक्तिको जवाफमा रक्षामन्त्री गालान्टले हिजबुल्लाह गम्भीर गल्तिको नजिक रहेको चेतावनी दिए । ‘यसको नराम्रो परिणाम ब्यहोर्नुपर्छ । यसको असर लेबनानका नागरिकहरूले ब्यहोर्नेछन् । गाजामा जे गरिरहेका छौं, बेरूतमा त्यस्तै कसरी गर्ने भन्ने हामीलाई थाहा छ । बेरूतको पनि त्यस्तो हालत हुन्छ जस्तो अहिले गाजाले ब्यहोरिरहेको छ,’ गालान्टको भनाइ उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७