परम्परा जोगाउन चार वडा मिलेर हाले रोटेपिङ


२६ कार्तिक २०८०, आईतवार
rote ping
फाइल फोटो

भोजपुर । भोजपुर नगरपालिका–१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् । वडाध्यक्ष जीरामणि राईको पहलमा तिहारको अवसर पारेर गाउँमा रोटेपिङ लगाइएको हो ।

‘अहिलेका युवापुस्ता सामाजिक सञ्चालमा नै व्यस्त हुने हुँदा परम्परागतरुपमा चल्दै आएको संस्कार र संस्कृति समेत लोप हुने अवस्थामा पुगेका छन्’, वडाध्यक्ष राईले भने, ‘त्यसको संरक्षण र सम्वर्द्धनका लागि वडावासीको सहयोगमा गाउँमा पिङ हालिएको हो ।’ उनका अनुसार दसैं तिहारजस्ता पर्वमा पनि अहिलेको आधुनिकताका कारण रौनक हुन थालेकाले पुरानो संस्कार र संस्कृति संरक्षणमा वडाले भूमिका निर्वाह गर्दै आएको हो ।

गाउँघरमा बाँसबाट बनाइने लिङ्गेपिङ समेत विस्थापित हुँदै गइरहेको अवस्थामा मेहनतका साथ काठ खोजेर रोटेपिङ लगाइएको स्थानीय धनप्रसाद राईको भनाइ छ । धनप्रसादको सक्रियतामा तीन दिन लगाएर वडामा रोटेपिङ हालिएको हो । ‘संस्कृतिको जर्गेना र संरक्षणका लागि पिङ हालिएकाले यसले सामाजिककाममा समेत सद्भाव बढाएको छ’, धनप्रसादले भने । विगतमा ग्रामीण क्षेत्रमा लोकप्रिय काठबाट बनेका रोटेपिङ अचेल देखिन छोडेका उनको भनाइ थियो । 

बढ्दो प्रविधिको विकास तथा अन्य सुखका कारण युवा सहर बस्न रुचाउने र गाउँ शून्य हुने खतरा बढेसँगै गाउँको पुरानो संस्कृति र जोगाउन समस्या हुँदै आएको वडाध्यक्ष राईको धारणा छ । चार वडाको संलग्नतामा गाउँमा निर्माण गरिएको पिङमा सखुवाको काठ प्रयोग गरिएकाले निकै मजबुत छ । यो काठ आठदेखि १० वर्ष टिक्ने भएकाले चाडपर्वपछि यसलाई सुरक्षित राखेर आगामी वर्षमा पनि प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७