ओझेलमा ‘देवीकोट’


२७ कार्तिक २०८०, सोमबार
devikot

दाङ । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा रहेको पर्यटकीय गन्तव्य देवीकोट ओझेलमा परेको छ । त्यहाँ रहेको देवीकोट मन्दिर, त्यहाँबाट देखिने सेताम्मे हिमाल र तराईका फाँटले आकर्षण थपेको भए पनि त्यो स्थानको प्रचार प्रसारको अभावमा पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो स्थानका रुपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट आठ किलोमिटर मात्रै उकालो चढ्नुपर्छ । यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ । देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तव्यका रुपमा लिन सकिने राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बताए ।

स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ । तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ । ऐतिहासिक भए पनि त्यो मन्दिरको भौतिक संरचना भने पर्याप्त मात्रामा निर्माण गर्न सकिएको छैन । मन्दिरको पर्खाल भत्किएको छ । सोही ठाउँमा सतिदेवीको बाँया घुँडा पतन भएको किम्वदन्ती रहेको छ ।

तर, पनि त्यहाँ आवश्यक संरचना तयार नहुँदा भक्तजनको त्यति धेरै आकर्षण छैन । सोही ठाउँमा मन्दिरका अन्य संरचना निर्माण तथा मन्दिर निर्माणस्थलको जमिन जोगाउनतर्फ ध्यान दिनुपर्ने पालिका अध्यक्ष विष्टले बताए । ‘मन्दिर निर्माणस्थलमा पनि पहिरो गएको छ, अन्य संरचना पनि निर्माण भएका छैनन्’, उनले भने, ‘यसमा सङ्घ र प्रदेश सरकारले चासो दिनुपर्छ ।’

त्यहाँ विद्युतको पोल र तार जडान गरिएको छ, तर, विद्युत् अझै बल्न सकेको अवस्था छैन । कच्ची सडक छ, तर, सहज यातायात छैन । खानेपानीको पनि समस्या छ । यी सबै समस्या समाधान भएमा प्रदेशको पर्यटनको एउटा गन्तव्य बन्न सक्ने अध्यक्ष विष्टको भनाइ छ । प्रदेश राजधानीदेखि नजिकै भएकाले जो कोही पनि सोही ठाउँमा गएर दर्शन गर्न सक्ने उहाँको भनाइ छ । त्यहाँबाट सिस्ने हिमाललगायत अन्य हिमशृङ्खला पनि देखिने, पहाडको अवलोकन गर्न पनि पाइने र भारतका केही भू–भाग पनि देख्न सकिन्छ ।

त्यहाँ स्थानीय ढिडो, रोटी, स्थानीय जातका कुखुरा, खसीलगायतका खानेकुरा पनि पाइन्छन् । यसले गर्दा घरवास (होमस्टे)को पनि राम्रो सम्भावना भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७