पूर्व प्रधानमन्त्रीहरुको क्लवले बन्द कोठामा गरेको सहमतिको भारी बोक्दैनौं : गगन थापा


२८ कार्तिक २०८०, मंगलवार
gagan thapa

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक प्रतिबन्ध गर्ने निर्णयमा प्रधानमन्त्रीले सहमतिका आधारमा गरिएको भनेकाले कुन सहमति भन्दै प्रश्न गरेका छन् ।

आज (मंगलबार) बसन्तपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय लिएको दाबी गरेका थिए । त्यसपछि थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले भन्नु भएछ– सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो । प्रम ज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?’

उनले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरुको बीचमा भएको सहमति नभन्न अनुरोध समेत गरेका छन् । साथै उनले पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी नभएको स्मरण गराएका छन् ।
उनले भने, ‘प्रमज्यू, पूर्व प्रधानमन्त्री ज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नु होस् । यो तपाईंहरूबीचको समझदारी हो पार्टीहरूबीचको होइन । पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ ।’

उनले प्रमुखहरु बसेर यस्ता लहडी निर्णय र सम्झौताको भारी पार्टी र आफूहरुले बोक्न नसक्ने स्पष्ट पारेका छन्। सरकारले गर्ने निर्णमा सत्तापक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ ? भन्दै प्रश्न आइरहेको भन्दै थापाले गलतको विरोध र प्रतिरोध गर्न मिल्ने बताएका छन् ।

उनले भनेका छन्, ‘यहीँ प्रसङ्गमा कति साथीहरूले, सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ ? भन्ने कुरा उठाउनु भएको छ । त्यसको उत्तर हो, मिल्छ । गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ । हिजो पनि गलतलाई गलत भनेका हौं,आज पनि र भोलि पनि भन्छौं। सत्तामा हुँदा गलत पनि ठीक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन ।’ बरु, सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत रहेको उनको भनाइ छ । उनले जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ त्यहाँ निर्णय गर्न ठाउँमा को छ भनेर नहेरिने तर निर्णय कस्तो छ भनेर हेरिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७