इजरायली सेना निशाना गाजाको सबैभन्दा ठुलो अस्पताल : ट्याङ्कहरूसहित पसे सयौँ कमान्डो सैनिक


२०८० कार्तिक २९ बुधबार ११:०५ बजे

काठमाडौं : इजरायली सेना प्यालेस्टाइनको गाजापट्टीको सबैभन्दा ठूलो अस्पताल ‘अल–शिफा अस्पताल’ प्रवेश गरेको छ। इजरेलले गाजास्थित अल‍–शिफा अस्पताललाई लक्षित गरेर आफ्ना सैनिकहरूले कारबाही गरेको जनाएको छ।

अस्पतालभित्र रहेका प्रत्यक्षदर्शीहरूले कमान्डो सैनिकहरू अस्पतालको मुख्य आकस्मिक कक्षमा प्रवेश गरेको बताएका छन् । इजरायली सेनाले अस्पतालका कोठा र बेसमेन्टहरूमा छापा मारिरहेछ। अस्पतालमुनि बनाइएको सुरुङमा हमास लडाकूहरूको मुख्यालय रहेको भन्दै इजरायली सेनाले स्थलगत कारबाहीको मुख्य निशाना नै अल-शिफा अस्पताललाई बनाएको छ। हमासले भने इजरायली सेनाको उक्त दाबी अस्वीकार गर्दै आएको छ।

प्रत्यक्षदर्शीहरूले गाजास्थित बीबीसीका संवाददाता रुस्दी अबु अलुफलाई सयौँ सैनिकहरूले आक्रामक कारबाही गर्दै अस्पताल प्रवेश गर्दाको दृश्य र सैनिक ट्याङ्कहरू परिसरभित्र देखिँदाको क्षणबारे वर्णन गरेका छन्। अस्पतालभित्र परिचालित भएका सैनिकहरूको सङ्ख्या र त्यसको उद्देश्य अझैसम्म प्रस्ट छैन।

योसँगै त्यहाँ रहेका सयौं बिरामी र अस्पतालमा शरण लिइरहेका हजारौं सर्वसाधारणको जीवन सङ्कटमा परेको छ। गाजाका अधिकारहरूका अनुसार इजरायली सेनाले अस्पताल घेराउ गरेकै कारण केही बिरामीसँगै तीन जना नवजात शिशुहरूको मृत्यु भएको छ।

अल-शिफा अस्पताल परिसर। तस्वीर: बीबीसी

अस्पतालका डाक्टर अहमद अल मोहल्ललातीले अस्पतालबाहिर रातभर लडाइँ भएपछि कर्मचारीहरू लुकेको जनाएका छन्। ‘हिजो राति बेलुकापख लडाइँ शुरू भयो… अस्पतालको वरिपरि र भित्र गोली चल्यो। त्यो आवाज एकदमै डरलाग्दो थियो,’ उनले भनेका छन्, ‘हामीले अस्पताल वरिपरि ट्यांकहरू घुमिरहेको थाहा पायौं। एउटा ठूलो ट्यांक पूर्वतिरको मेन गेटबाट अस्पतालभित्र प्रवेश गर्‍यो। अस्पतालको आपत्‌कालीन विभाग अगाडि उक्त ट्यांक पार्क गरिएको छ। अस्पतालको सेरोफेरोमा सबैखाले हतियार प्रयोग भएका छन्। उनीहरूले अस्पताललाई नै निशाना बनाएका छन्। हामीहरू झ्याल नजिक जान छोडका छौं।’

यसअघि उक्त अस्पतालका डक्टरहरूले अस्पतालमा अत्यावश्यक सेवा सञ्चालनका लागि इन्धनको अभाव सुरु भइसकेको र ज्यान गुमाएका २०० जना बिरामीहरूलाई त्यहाँको सामूहिक चिहानमा पुरिएको बताएका थिए। गाजाको अल‍-शिफा अस्पतालमा हजारौँ बिरामी र आश्रय लिइरहेका मानिसहरू रहेको ठानिएको छ। पछिल्लो समय इजरेली फौजले यसलाई घेराबन्दीमा राखेको थियो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्गलवार यहाँ ७०० जना बिरामी, ४०० जना अस्पतालका कर्मचारी र ३,००० जना गैरसैनिक सर्वसाधारण रहेको बताएको थियो।

हमासले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयले भने त्यहाँ २,३०० जना मानिसहरू रहेको र त्यसमा ६५० जना बिरामी २०० देखि ५०० कर्मचारी र १,५०० जना गैरसैनिक रहेको जनाएको छ। गाजाको सबैभन्दा ठूलो भनिएको यो अस्पतालमा ७०० शय्याको क्षमता रहेको विवरण आएका छन्।

  • बिबिसी,अरब न्यूज र अलजजिराको सहयोगमा


लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७