दशैंपछि उपत्यकामा एक करोडका धनमाल चोरी, ३३ लाख नगदसहित ६७ जुवाडे पक्राउ


३० कार्तिक २०८०, बिहीबार
chori
सांकेतिक तस्वीर

काठमाडौं । दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब एक करोड बढीको धनमाल चोरी भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् । त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही २० दिनको अवधिमा काठमाडौंको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्नको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

दसैँ–तिहारमा ३३ लाख २२ हजार नगदसहित ६७ जुवाडे पक्राउ

यस वर्षको दसैँ र तिहारमा जुवातास खेल्ने ६७ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ परेका जुवाडेहरूबाट ३३ लाख २२ हजार १३५ रुपैयाँ बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

चाडपर्वको अवसरमा मनोरञ्जनबाहेक पैसा हारजित हुने खालको जुवातास खेलेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसएसपी शाहको भनाइ छ । ‘हामीले आफ्नै घरमा मनोरञ्जनको लागि तास खेल्नेहरूलाई पक्राउ गरेका होइनौं । पैसा हारजित हुनेखालका जुवातास नियन्त्रण गरेका हौँ’, शाहले भने । यसरी पक्राउ परेकाहरूमा ५१ जना पुरुष र १६ जना महिलासमेत छन् । उनीहरूलाई ललितपुर प्रहरीले जुवाविरुद्ध मुद्दा चलाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४५ बुक तास १६ थान कौडा, लंगुरबुर्जा र बाल्टिनसमेत बरामद गरेको छ ।

तिहारमा पक्राउ परेकालाई टीका लगाउन दिइयो

ललितपुर प्रहरीले तिहारमा पक्राउ परेका जुवाडेहरूलाई भने दिदीबहिनीको हातबाट टिका लगाउन छुट दिएको छ । अघिल्लो दिन पक्राउ परेका आठजनालाई भाइटिकाको दिन टिका लगाउन घर फर्काएको हो । जिल्ला प्रशासनको निर्णयअनुसार नै पक्राउ परेकाहरूलाई मुद्दा चलाएपनि पछि हाजिर हुने गरी छोडिएको हो ।

प्रहरीले प्रमाण नष्ट नहुने प्रकृतिको मुद्दामा हाजिर जमानीमा छोड्नु सामान्य प्रकृया भएको उनले बताए । एसएसपी शाहले भने, ‘तिहारअघि नै हामीले यो निर्णय गरेका हौँ । जुवातासमा पक्राउ पर्नेहरूलाई दिदीबहिनीको हातबाट लगाउने टिका नछुटोस् भन्ने हो । त्यहीँअनुसार गरेका हौँ । तर, उनीहरूलाई छोडेपनि जुवा मुद्दामा भने दर्ता गरेका छौंँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७