राजदूत खड्का र श्रेष्ठद्वारा ओहोदाको प्रमाणपत्र पेस


३० कार्तिक २०८०, बिहीबार
hangeri f96pQiM8cp

काठमाडौँ । हंगेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

हंगेरीका राष्ट्रपतिको कार्यालय सान्दोर प्रासादमा मङ्गलबार आयोजित विशेष समारोहमा राजदूत खड्काले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र पेस गर्नेक्रममा राजदूत खड्काले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट हङ्गेरीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै हङ्गेरीका जनताको निरन्तर प्रगति एवं शान्तिको कामना गरेका थिए ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाल सरकार र नेपाली जनताकातर्फबाट उनले हङ्गेरीका जनताको समुन्नतिको कामना गरे । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो । त्यस अवसरमा राष्ट्रपति नोभाकले निकट भविष्यमा हुने आफ्नो देशका परराष्ट्र तथा वाणिज्यमन्त्रीको नेपाल भ्रमण दुवै राष्ट्रका निम्ति ऐतिहासिक हुने बताइन् । यस्तै मङ्गोलियाका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले त्यहाँका विदेशमन्त्री न्यामदोर्ज अङ्खबायार समक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि प्रस्तुत गरेका छन् ।

राजदूत श्रेष्ठलाई स्वागत गर्दै मन्त्री अङ्खबायारले नेपालसँगको सम्बन्ध र सहयोग विस्तार गर्न आफ्नो मुलुक तत्पर रहेको बताए । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार द्विपक्षीय परामर्श संयन्त्रको बैठक नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै उनले यो वर्षको शिशिर याम समाप्त हुने वित्तिकै संयन्त्रको बैठक आयोजना गर्न आफू इच्छुक रहेको बताए ।

नेपाल र मङ्गोलियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन तथा जनता–जनताबीचको सम्पर्क विस्तार गर्न दुई देशबीच हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए । उनले दुवै देशका बौद्धमार्गीका माध्यमबाट जनतस्तरको सम्बन्धलाई अझ सबल बनाउन मद्दत पुग्ने बताए । त्यस अवसरमा शिष्टाचार महापाललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७