केहि दिनमै प्रहरी ऐन आउँदैछ, प्रदेशसँग लाठ्ठी हुनेछ : प्रधानमन्त्री


१ मंसिर २०८०, शुक्रबार
Prachanda tanahu scaled

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् ।
तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लोतहसम्म पुर्‍याउँछौँ, अधिकार नपुग्दै सङ्घीयता असफल भयो भन्न हुन्न ।’

प्रधानमन्त्री दाहालले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गरे । उनले भने, ‘सङ्घीयताको बारेमा अरुले भन्दा मैले बढी बुझेको छु भन्ने मेरो दाबी छ । सङ्घीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु ।’ प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन । प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्वबारे बुझाउन सकिँदैन ।’

प्रधानमन्त्री दाहालले तीनवटै ऐन कार्यान्वयनमा आउने उल्लेख गरे । गएको तीन–चार दिनदेखि प्रहरीसँग, गृह मन्त्रालयसँग छलफलमा रहेको बताउँदै उनले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरे । सङ्घीय निजामती ऐन बनिसकेको बताउँदै प्रधानमन्त्री दाहालले उक्त ऐन पनि कार्यान्वयनमा आउने स्पष्ट पारे । उनले सिंहदरबार जनताको घरदैलोमा आएको अनुभूति दिलाउने विश्वास दिलाउँदै स्वास्थ्य, शिक्षाका बारेमा सरकार प्रतिबद्ध रहेको बताए । केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने र प्रदेशसँग लाठी हुने प्रचण्डले दाबी गरे । ‘लाठ्ठी नभइकन सरकार हुँदैन । जोसँग सेना छैन, पुलिस छैन, उसले ल एन्ड अर्डर मेन्टेन कसरी गर्छ ? लाठ्ठी हुनेछ,’ प्रचण्डले भने ।

कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीलगायतले आँबुखैरेनी विकासको अभियानमा अगाडि बढेको बताए । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले आज उद्घाटन गर्नुभएको हो । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मंसिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको अध्यक्ष चुमानले जानकारी दिए ।

अस्पतालमा एक्सरे सेवा समेत सञ्चालनको तयारी गरिएको छ । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौडाबाट पाँच सय एमए एक्से मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिबी क्षेत्रीले जानकारी दिए । अस्पतालमा एक्सरे मेसिन नहुँदा यस भेगका जनता एक्सरे सेवा लिनका लागि छिमेकी चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त गोरखाका केही पालिकाका सर्वसाधारणले सहजरूपमा सेवा पाउने गाउँपालिकाका अध्यक्ष चुमानले बताए । उनले भने, ‘अस्पतालको सेवा वृद्धि गर्न लागिपरेका छौँ । निकट भविष्यमै डायलासिस सेवा सञ्चालनमा आउँछ ।’

गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानको भनाइ छ । उनले भने, ‘ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरुपमा अस्पतालमै हुनेछ ।’

अस्पताललाई एक सय शैंया क्षमताको अस्पताल बनाउनसमेत पहल भइरहेको छ । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँ ठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल आवश्यक रहेको चुमानले बताए ।
‘१५ शैंयाको अस्पताल हामी आफै चलाइरहेका छौँ, एक सय शय्याको अस्पताल प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौँ’, चुमानले भने, ‘त्यसपछि आँबुखैरेनी मात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७