प्रधानमन्त्री सान्चेजलाई जेल हाल्न माग गर्दै स्पेनमा विशाल प्रदर्शन


३ मंसिर २०८०, आईतवार
spain

मड्रिड । क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौँ हजार स्पेनीले प्रदर्शन गरेका छन् ।

प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको र सामान्यतया रियल मड्रिडका समर्थकले विजयको उत्सव मनाउने प्लाजा सिबेल्समा करिब एक लाख ७० हजार मानिस भेला भएका थिए । दक्षिणपन्थी युरोपियन पिपुल्स पार्टीद्वारा वितरित स्पेनी र अन्य युरोपेली झण्डा बोकेका सबै उमेरका प्रदर्शनकारीहरूबाट ‘क्याटालोनिया स्पेन हो’, ‘सान्चेज, गद्दार हुन्’, ‘सान्चेजलाई जेल हाल,’ भन्ने नारा सुन्न सकिन्थ्यो ।

‘बास्क देश एकातिर र क्याटालोनिया अर्कोतिर होस् र केही भएन भन्नका लागि पेड्रो सान्चेज स्पेनलाई टुक्रा टुक्रा पार्न चाहनुहुन्छ,’ मड्रिडबाट अवकाश प्राप्त ६५ वर्षीया प्रदर्शनकारी मारिया एन्जेल्स गालानले भनिन् । सन् २०१८ देखि सत्तामा रहेका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज जुलाईमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी नेता अल्बर्टो नुनेज फेइजुपछि दोस्रो स्थानमा आएका थिए ।

बहुमतमा पुग्नका लागि आवश्यक पर्ने मतको बदलामा साञ्चेजले क्याटालोनियाको सन् २०१७ को पृथकतावादी प्रयासमा संलग्न भएको आरोपमा मुद्दा चलाइएका पृथकतावादी नेता र कार्यकर्ताहरूका लागि विवादास्पद आममाफी विधेयक पारित गर्नेलगायत थुप्रै सहुलियतहरू स्वीकारेका थिए ।

’मलाई लाग्छ, यो लडाइँ अब सुरु हुन्छ,’ प्रदर्शनमा सहभागी ५१ वर्षीय उद्यमी मारियानाले भने । आफूलाई ‘समाजवादी तर सान्चे जस्तो व्यक्ति नभएको बताउने ६५ वर्षीय लुइस गैरिडोले प्रधानमन्त्रीले ‘यो (शर्त) मूल्य’ स्वीकार गर्न नहुने बताए । ‘म स्पेन यसरी विभाजित होस् भन्ने र डुबोस् भन्ने चाहन्नँ’, उनले भने ।

भीड मध्याह्नतिर जम्मा भएको केही क्षणको भाषणपछि शान्तिपूर्ण रूपमा तितरबितर भएको थियो । मड्रिडस्थित सोसलिस्ट पार्टीको मुख्यालय अगाडि विगत दुई हप्तादेखि हरेक दिन प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा केही विकृति देखिएका छन् भने दर्जनौं व्यक्ति पक्राउ परेका छन् । रासस / एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७