दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस


८ कार्तिक २०७४, बुधबार
nepali congress flag

काठमाडौं : प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका उम्मेदवार तय गर्न छलफल तीव्र बनाएको छ ।  

nepali congress flag

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय संसदीय समिति बैठकमा जिल्लाबाट सिफारिश भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ भएको नेता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा चुनावी तालमेल गर्ने दलसँग आवश्यक परामर्श गरी व्यवस्थापन गरिनेबारेमा समेत छलफल भएको जानकारी दिँदै डा महतले भने, “चाँडोभन्दा चाँडो उम्मेदवारको टुंगो लाग्छ ।”

आगामी मंसिर १० गते हुने निर्वाचनका लागि यही कात्तिक ५ गते दलहरुले मनोनयन दर्ता गरिसकेका छन् भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ । पार्टीले आसन्न निर्वाचनको तयारीका लागि नेता बालकृष्ण खाँडको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरिसकेको छ । निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरी अन्तिम रुप दिइएको छ ।

पार्टीको संसदीय समिति र पदाधिकारीको मंगलबार बसेको बैठकले नेता महेश आचार्य नेतृत्वको घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्रको खाकामा आवश्यक सुझाव समेटी अन्तिम रुप दिइसकेको छ । घोषणापत्रमा केही सामान्य शब्दावली सुधारपछि सम्भवतः आजै छपाइका लागि पठाइने पार्टी कार्यालयका सचिव प्रेम केसीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७