अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्वीरहरु)

जनकपुरधाम । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । मधेसका अधिकांश जिल्लाहरूमा गाउँदेखि शहरसम्मका जलाशयमा दुलही जस्तै सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका हुन् ।
माटोले बनाइएको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयको दृष्य मनमोहक देखिएका छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चामलको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरेका छन् ।
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।
विना भेदभाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ ।
तस्वीरहरु


धनुषाको जनकपुरधाम स्थित गंगासागरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन श्रद्धालुभक्तजनहरुले ल्याएका छठ पर्वको प्रसाद । तस्वीर : अजयकुमार साह / रासस




वीरगञ्जको रानिघाटस्थित छठ घाटमा आइतबार अस्ताउदो सूर्यलाई पूजा गर्दै व्रतालहरु । तस्वीर : विजयकुमार महतो / रासस


पोखरा महानगरपालिका–६ केदारेश्वर मन्दिर परिसरमा अवस्थित फेवाताल किनारमा आइतबार छठ पूजा गर्दै स्थानीय महिला । तस्वीर : राधिका कँडेल / रासस


नारायणगढको नारायणी किनारस्थित छठ घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्वीर : सनद अधिकारी / रासस


दाङको घोराही उपमहानगरपालिका–१५ गोरखाटोलस्थित कटुवाखोला छठ घाटमा आइतबार अस्ताउदो सूर्यलाई पूजा गर्दै स्थानीय महिला । तस्वीर : कुलदीप न्यौपाने / रासस