टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’ सूचीमा


४ मंसिर २०८०, सोमबार
tiktok sarbocha

काठमाडौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन् । यही मंसिर १ गते दर्ता भएका टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका थिए । छठको बिदाका कारण आजको पेसी तोकिएका १० रिट प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश चुडालको इजलासमा परे पनि इजलास बस्न नसकेपछि हेर्न नभ्याइने सूचीमा परेका हुन् । १० वटै रिट लगाउमा राखेर एउटै इजलासमा एकसाथ सुनुवाइको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७