दाङमा बन्द कोठाभित्र दाजुभाइ मृत भेटिए, प्रहरीले थाल्यो अनुसन्धान


५ मंसिर २०८०, मंगलवार
death
सांकेतिक तस्वीर

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत भेटिएका हुन् ।

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ ।

आज (मंगलबार) शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत फेला परेको सूचना प्रहरीलाई आएको हो ।

एउटै कोठाको दुई खाटमा उनीहरु मृत फेला परेका हुन् । शव गनाइसकेकाले उनीहरुको दुई–तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । पोष्टमार्टमपछि मात्र दाजुभाइको मृत्युको वास्तविक कारण खुल्ने डीएसपी पोखरेलले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७