क्रोएसिया युरोकपमा छनोट, अरु को–को छानिए ?


६ मंसिर २०८०, बुधबार
croatia BYGTKkC5CL

काठमाडौं । क्रोएसिया सन् २०२४ मा हुने युरोकपका लागि छानिएको छ । अर्मेनियालाई १–० गोलले पराजित गर्दै लुका मोड्रिचको टोली जर्मनीमा हुने प्रतियोगिताका लागि सिधै स्थान बनाउने अन्तिम टोली बनेको हो ।

घरेलु मैदान जाग्रेबमा गए राति भएको खेलमा क्रोएसिया सुरुवातदेखि नै हाबी भए पनि गोल गर्न नसक्दा निराश बनेको थियो । ३० औं मिनेटमा कामोले गरेको प्रहार क्रोसियाका गोलकिपर डोमोनिक लिभाकोभिचले बचाए । ४३ औं मिनेटमा आन्ते बुदिमिरले डेडलक तोडे । युरोकप छनोटमा उनको यो पहिलो गोल हो । १–० को अग्रतासहित दोस्रो हाफ सुरु गरेको क्रोएसियाका लागि मोड्रिचले प्रभावकारी प्रदर्शन गरे। बुदिमिरको गोलनै क्रोएसियालाई युरोको फाइनल चरणमा स्थान सुरक्षित गर्न पर्याप्त भयो ।

क्रोएसिया मैदान प्रवेश गर्दा वेल्स र टर्की बीचको खेलको नतिजाले पनि प्रभाव पार्ने थियो । कार्डिफमा वेल्सले टर्कीविरुद्ध सुरुवाती अग्रता लिएपछि क्रोएसिया प्ले अफ खेल्नु पर्ने स्थितिमा पुग्यो । तर ७५ प्रतिशत बल पोजिसनमा राखेको क्रोएसियाले स्पष्ट जित हात पार्दा वेल्स टर्कीसँग एक–एक गोलको बराबरीमा रोकियो । समूह ‘डी’बाट टर्की विजेता र क्रोएसिया उपविजेता हुँदै छनोट भएका हुन् ।

क्रोएसियाले सन् २००४ यता लगातार युरो खेल्दै आएको छ । तेस्रो स्थानमा रहेको वेल्सले भने प्ले अफ खेल्नुपर्नेछ । युरो खेल्ने २४ मध्ये २१ टिमको टुंगो लागेको छ । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदैछ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समुह ए बाट स्पेन र स्कटल्याण्ड, समुह बि बाट फ्रान्स र नेदरल्याण्डस, समुह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् ।

त्यसैगरी समूह ‘इ’ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समूह एफ बाटबेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसैगरी समूह ‘जी’ बाट हंगेरी र सर्बिया, समूह ‘एच’ बाट डेनमार्क र सर्बिया, समूह ‘आइ’ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समूह ‘जे’ बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन् ।

आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ । समूह ‘ए’ मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो । सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् । प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७