प्रहरीको ३६ रोपनी जग्गा हडप्न खोज्ने पूर्व नासुलाई सीआइबीले पक्रियो


६ मंसिर २०८०, बुधबार
police jagga

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोज्ने एक पूर्व कर्मचारीलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले कीर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा काभ्रे, पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो । उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका हुन् ।

वन क्षेत्रको सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएको थियो । तर, बस्नेतले आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरी दाबी छ । उनीविरुद्ध सीआइबीले कीर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन् ।

उनले पेस गरेका कागजपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही अघि बढाइएको सीआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले जानकारी दिइन् । पनौती नगरपालिका– ६ मा पर्ने कित्ता नम्बर ७५ को जग्गा नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ । सोही जग्गा समेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७